१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

रुपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ



रुपन्देही।
आफ्नै छोरीलाई हत्या गरेको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् ।

प्रहरीले उनलाई आफ्नै १७ वर्षीया अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोप लगाएको छ ।

बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होेटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए ।

प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन ४, थकालीचोकबाट नारायणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । अञ्जली कञ्चनकै हरैया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत थिइन् ।

अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले बुटवलमा भेटेर घर जान आग्रह गर्दा नमानेपछि रिसको झोंकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका डीएसपी भट्टले बताए ।

घटनापछि अन्जलीकी आमाले आफ्ना पति नारायणविरुद्ध किटानी जाहेरी दिएकाले अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु भएको उनले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८१ शुक्रबार ००:००  ११ : ३९ बजे