३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ: गृहमन्त्री लामिछाने



बाँके ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी अन्त्य गरिने बताएका छन् । बिहीबार बाँकेको नौबस्तास्थित नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गर्दै मन्त्री लामिछानेले अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुने बताएका हुन् ।

त्यसबारे छलफल शुरू गरिसकेको उनले बताए । ‘पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो छ। अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ। त्यसबारे छलफल सुरु गरिसकेका छौं,’ उनले भने ‘कैद मिनाहका लागि कैदीरबन्दीले पनि पहुँच खोज्ने होइन, आचरण सुधार गर्ने हो। असल आचरण हुनेका लागि कसैको पहुँच चाहिन्न सरकार छ।’

कैदीरबन्दीलाई सम्मानजनक श्रममा लगाउने विषयमा छलफल भइरहेको उनले बताए । कारागारहरू यातना केन्द्र होइन सुधार गृह बनून् भन्नेमा सरकार सचेत रहेको उनको भनाइ छ । ‘कारागारहरू यातना केन्द्र होइन सुधार गृह बनून भन्नेमा सरकार सचेत छ। सरकारका तर्फबाट गर्नुपर्ने सुधारका काम निकै छन्। आवश्यक प्रयास भइरहेको छ,’ उनले भने, ‘सजाय भुक्तानी गरेर फर्किएकालाई समाजमा पुनःस्थापित हुन गाह्रो छ। त्यसतर्फ पनि हामी सचेत बन्नुपर्छ। कारागारबाट फर्किएकालाई समाजले फेरि कारागार नै पठाउने परिस्थितितर्फ धकेल्नु हुँदैन।’

१३४ रोपनी क्षेत्रफलमा फैलिएको कारगारमा ३ हजार (२४ सय पुरुष र ६ सय महिला) कैदीरबन्दी अट्ने क्षमता छ । उक्त कारागार करिब ३ अर्बको लागतमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८१ बिहिबार ००:००  २ : ४८ बजे