४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमाले कार्यकर्ताबाट न्याय पाएका बाबुराम, बलरामको दरिलो साथ पाउँदा पनि डम्बर हारे



दीपक अनुरागी, कपिलवस्तु ।
नेकपा एमाले कपिलवस्तुका सदावहार नेता हुन् बाबुराम खनाल । सदरमुकाम तौलिहवा घर भएका खनाल एमाले राजनीतिमा सरकारी जागीर छाडेर आएका थिए ।

एमाले कपिलवस्तुको शिर्ष नेतृत्वमा रहेर काम गरेका खनाल पार्टी पंक्तिमा लोकप्रिय छन् । एमाले कपिलवस्तुको सचिव, उपाध्यक्ष भएर काम गरेका उनी सदरमुकाम बसेरै जनताको सेवामा जीवन समर्पित गरे ।

एक समय मधेसी समुदायको बाहुल्यता रहेको सदरमुकाम तौलिहवामा एमालेको राजनीति गर्न त्यति सहज थिएन । मधेस आन्दोलन होस् या संसदीय चुनाव, एमालेका लागि विषम परिस्थिति थियो । मधेस आन्दोलनमा एमाले प्रति मधेस केन्द्रीत दल आक्रोशित हुँदा खनाल बारबार जोगिएका थिए । एमालेको राजनीति गरेकै कारण खनालको घरमाथि पटक-पटक ढुंगा प्रहार भएको थियो ।

पार्टी कार्यालय नजिकै घर भएका खनाल मिजासिला छन् । कार्यालय सचिव जस्तै बनेर आफ्नो पदाधिकारी काल उनले विताएका छन् । विहानैदेखि पार्टी कार्यालयमा जनताका काममा खनाल खटिन्थे । जनताका प्रशासनिक काममा पनि खनालको सक्रियता बढो लोभलाग्दो थियो ।

कहिल्यै नरिसाउने, सधैँ हासेर बोल्ने खनालको निर्णय क्षमतामा भने अलि लचिलो स्वभाव रहेको कार्यकर्ता मूल्याङ्कन गर्छन् । गुटबन्दीका अनेकन खेलमा खासै विवादित नबनेका खनाल आफ्ना च्याप्ने, अर्का फाल्ने नेता होइनन् । पार्टीको जनवर्गीय मोर्चाको प्रमुख रहदा पनि खनालले पक्षधरता कहिल्यै लिएनन् । बरु उनले आफ्ना समूहका नेताले भनेको खुरुखुरु मानेका हुन् ।

यिनै खनाल शुक्रबार सम्पन्न एमाले कपिलवस्तुको दशौं अधिवेशनमा (दरिलो केन्द्रीय नेताको प्रत्यक्ष साथ बिना) अध्यक्षमा निर्वाचित भएका छन् ।

नवौँ जिल्ला अधिवेशनमा पनि खनाल अध्यक्षको प्रत्यासी थिए । त्यति बेला डम्मर शर्मा, नेत्रराज अधिकारीसँग खनाल चुनावमा भिडेका थिए । नेकपा विभाजन, एमाले विभाजनको तितो पीडाका बीच भएको जिल्ला निर्वाचनमा एमाले कपिलवस्तुले निर्वाचन मार्फत नेतृत्व टुङ्ग्याएको थियो । कतिपय जिल्लामा केन्द्रका नेताले टिका लगाएर नेतृत्व चयन गरेपनि कपिलवस्तुमा चुनाव भएको थियो ।

त्यो बेला डम्मर शर्मा निर्वाचित भएका थिए ।

खनाल नवौँ जिल्ला अधिवेशनमा नै जोखिम मोलेर चुनावमा भिडेका थिए । पार्टी केन्द्रका नेताले चुनाव नगर्ने सोच बनाइरहेका बेला, जिल्लाका शिर्ष नेता डम्बर शर्माको पक्षमा लागेका बेला खनाल जोखिम मोलेरै चुनावमा होमिएका थिए । तर चुनाव आफ्नो पक्षमा पार्न नसकेपनि खनालले कार्यकर्ताको मन जितेका थिए ।

एमाले कपिलवस्तुमा बाणगंगा क्षेत्रका नेतालाई चुनाव जित्न त्यति सजिलो छैन् । जनमतको हिसाबले बाणगंगा एमालेको मात्र होइन्, पार्टी नेतृत्वको हिसाबले समेत अग्रपंक्तिमा छ ।

मालेदेखि एमालेसम्मको जिल्ला नेतृत्व बाणगंगाबाट भएका छन् । डा. बेदुराम भुसाल, बलराम अधिकारी, झविलाल पोख्रेल एमाले कपिलवस्तुको लामो समय नेतृत्व गरेका नेता हुन् । यी तिनै जना बाणगंगाका हुन् । भुसाल भने हाल नेकपा (एस) का केन्द्रीय उपाध्यक्ष छन् । एमालेमा छैनन् ।

डम्मर शर्मा बाणगंगाबाट एमालेको नेतृत्व गर्ने अन्तिम जिल्ला अध्यक्ष हुन् ।

बाणगंगाबाट जिल्ला नेतृत्वमा मात्र होइन्, हाल पार्टी केन्द्रीय राजनीतिमा समेत बलियो पकट छ । पार्टी पोलिटव्यूरो सदस्य विमला घिमिरे बाणगंगा निवासी हुन् । हाल राष्ट्रिय सभाकी उपाध्यक्ष भएकी घिमिरे पार्टी राजनीतिमा नभएपनि बलराम अधिकारी पार्टी केन्द्रीय सदस्य छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेका अधिकारी बाणगंगाका हुन् । पार्टीका केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपाने पनि बाणगंगा क्षेत्रकै हुन् ।

एमाले कपिलवस्तुमा बाणगंगा क्षेत्रले जे बोल्यो, त्यही हुने परिस्थिति रहेको गुनासो पार्टी पंक्तिमा विगतदेखि नै छ । यस्तो परिस्थिति पार्टीको नवौं अधिवेशनबाट भत्किन सुरु भएको हो । जसलाई खनालले चुनौती मोलेरै सामान गर्न पुगेका हुन् ।

त्यसैको सजाय स्वरुप खनाल गत स्थानीय र आम निर्वाचनमा टिकट पाउनबाट बञ्चित हुन पुगे । त्यो बेला मायादेवीले बाबुराम खनाल माथि एमालेको अन्याय शिर्षकमा समाचार लेखेको थियो ।

खनाल अध्यक्षमा लडिरहदा चन्द्रौटा क्षेत्रका अधिकारी समेत अध्यक्षका प्रत्यासी थिए । क्षेत्रगत रुपमा विभाजित हुँदा नेतृत्व बाणगंगाको पोल्टामा परेको चर्चा एमाले कपिलवस्तुमा लामो समयदेखि चल्दै आएको छ ।

अध्यक्षमा नजिते पनि सबैलाई आश्चर्य चकित पार्दै जिल्ला सचिवमा चन्दौटाका सिबी गहतराजले चुनाव जिते । गहतराजले विश्व कार्की र भेषराज पाण्डेलाई हराएर सचिवमा चुनाव जितेका थिए । गहतराजले चुनाव जित्दा बाणगंगाका नेता चकित थिए । नवौं अधिवेशनमा गहतराजलाई शिर्ष नेतृत्वको आर्शिवाद थिएन । कार्यकर्ताले नै जिताएका थिए ।

दशौं जिल्ला अधिवेशनसम्म आइपुग्दा बाणगंगाबाट एमाले नेतृत्व खोसिएको मात्र छैन्, केन्द्रीय तहका नेताको समर्थन पाउँदा समेत बाणगंगा निरासामा परिणत भएको छ ।

एमाले विभाजन पश्चात जिल्लामा केन्द्रीय गुट छैन् । तर जिल्लामा लामो समयदेखि पक्षधरताको राजनीति भने बडो चाखलाग्दो छ ।

कुनै समय बलराम अधिकारीसँग झविलाल पोख्रेल एक अर्काका प्रतिस्पर्धी थिए । दुबै जना पार्टी नेतृत्वका लागि चुनाव लडेका थिए । जहाँ अधिकारीले पोख्रेललाई हराएका थिए ।

एक समय (आठौं अधिवेशन) झविलाल पोख्रेलसँग डम्मर शर्मा चुनाव लडे । यो निर्वाचनमा केन्द्रीय पार्टी गुटको प्रभाव थियो । पोख्रेल माधव कुमार नेपाल-केपी शर्मा ओली समूहमा थिए भने शर्मा झलनाथ खनाल, घनश्याम भूसाल समूहमा । नेपाल ओली समूहका पोख्रेलले चुनाव जितेका थिए । जिल्लामा बलराम अधिकारीको साथ पोख्रेललाई थियो ।

नवौं अधिवेशनसम्म आइपुग्दा पोख्रलले बाबुराम खनाललाई साथ थिए । अधिकारीको साथ पाउँदा डम्मर शर्माले चुनाव जिते ।

दशौं अधिवेशनमा पोख्रेलको साथ पाएका बाबुरामले चुनाव जितेका छन भने, अधिकारीको साथ पाएर पनि शर्मा हारेका छन् ।

बाबुराम तिनै नेता हुन्, जो लामो समय बलरामको पक्षधर भएर काम गरे । बलराम पक्षधर रहेका बाबुराम अन्तिम समयमा झविलालको समर्थनमा अध्यक्ष भए । लामो समय बलराम विपरित रहेर काम गरेका डम्बर बलरामकै दरिलो साथ पाए ।

जिल्ला अधिवेशनका एक जना प्रतिनिधिले दशौं अधिवेशन नेताको लागि अग्नि परीक्षा थियो । मिडियामा गुटगत प्रचार नआएपनि एमाले भित्र नेताहरु आ-आफ्ना पक्षका उम्मेदवार जिताउन मरिमेटेर लागेका थिए ।

शुक्रबार सम्पन्न एमाले कपिलवस्तुको दशौं अधिवेशनमा खनालले शर्मालाई २५ मतान्तरले पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित खनालले २ सय ७८ मत पाउँदा शर्माले २ सय ५३ मत पाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१ शुक्रबार ००:००  ८ : ४२ बजे