२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा २ जना पक्राउ



गोरखा ।

२२ वर्षीया महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

‘नाताले श्रीमती एवं बुहारी पर्ने फरिदा खातुनलाई उनीहरुले दुई दिनदेखि कोठामा बन्धक बनाएर केही पनि खान नदिइ राखेका रहेछन्,’ उनले भने, ‘कोठाभित्रको खाबोमा ती महिलालाई बाँधेर मार्ने उदेश्य सहित लौरी, पेटी, खुकुर र चक्कु समेतले प्रहार गरेको भन्ने पनि छ ।’

घरभित्र थुनेर गएको अवस्थामा भाग्न सफल भएपछि ती महिलाले आफ्ना श्रीमान र ससुराविरुद्ध जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीको आधारमा उनीहरुलाई आइतवार पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।

पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८१ बुधबार ००:००  ३ : ५४ बजे