५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँः अध्यक्ष ढकाल



काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए ‘ब्रान्डिङ’ र निर्यात गर्न सकिने बताएका छन् ।

पाल्पा उद्योग वाणिज्य संघको ७०औं वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजार प्रवर्द्धन गर्न सकिने नेपालका यस्ता कयौँ मौलिक उत्पादन भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राखे ।
‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो, तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनका ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायी योजना बनाएर आउनुस, हामी के गर्न सक्छौं, गर्छौं,’ ढकालले भने ।

अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने ढकालको भनाइ छ ।

उनले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधार निर्माण गरी स्वदेश र विदेशका बढिभन्दा बढी पर्यटक भित्र्याउने बताए ।

‘पाल्पामा रहेको रानीमहल ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दीभन्दा लामो इतिहास जोडिएको छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्न सक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पदा संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलाप बढाउन सक्नुपर्छ,’ उनले भने ।

आफू सानो छँदा पनि बागलुङका मानिसहरू स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको उनले स्मरण गरे । पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१ आइतबार ००:००  १ : ०७ बजे