७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

अस्ट्रेलियाको मुख्य प्रशिक्षकमा पोपोभिच नियुक्त



काठमाडौं।
एसियन च्याम्पियन्स लिग विजेता टोनी पोपोभिच अस्ट्रेलियाको पुरुष फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

५१ वर्षीय पोपोभिचलाई सन् २०२६ को विश्वकपको अन्त्यसम्मका लागि नियुक्त गरिएको हो। उनले ग्राहम अर्नोल्डको स्थान लिएका छन्। एसिया जोनमा विश्वकप छनोटमा राम्रो सुरुआत गर्न नसकेपछि ग्राहमले गत हप्ता राजीनामा दिएका थिए।

पोपोभिचले भने, ‘मुख्य प्रशिक्षकको रूपमा अस्ट्रेलियाको नेतृत्व गर्ने अवसर पाउँदा म निकै गौरवान्वित छु। हाम्रो राष्ट्रिय टोलीलाई मार्गदर्शन गर्ने जिम्मेवारी पाउनु मेरो लागि सौभाग्यको कुरा हो, जसलाई म हल्का रूपमा लिन सक्दिनँ।’

सन् २०१४ मा वेस्टर्न सिड्नी वान्डरर्सलाई एसियन च्याम्पियन्स लिगको उपाधि दिलाएका पोपोभिचले अस्ट्रेलियाको ‘ए’ लिगमा पर्थ ग्लोरी र मेलबर्न भिक्ट्रीमा पनि सफल भूमिका निर्वाह गरेका छन्।

आफ्नो क्यारियरको सुरुमा पोपोभिचले क्रिस्टल प्यालेसमा सहायक प्रशिक्षकको रूपमा काम गरेका थिए। उनीसँग टर्की र ग्रिसका क्लबहरूमा प्रशिक्षण दिएको अनुभव पनि छ।

डिफेन्डरको रूपमा अस्ट्रेलियाका लागि ५८ क्याप जितेका पोपोभिचले आगामी ए लिग सिजनको लागि भिक्ट्रीसँग आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय गरेका थिए। उनले अक्टोबर १० मा चीनविरुद्ध घरेलु भूमिमा हुने छनोटमार्फत प्रशिक्षकमा डेब्यु गर्नेछन्। त्यसपछि पाँच दिन पछि यो टोलीले जापानको यात्रा गर्नेछ।

घरेलु मैदानमा बहराइनसँग हार बेहोरेको र इन्डोनेसियासँग ०–० गोलको बराबरी खेलेको अस्ट्रेलिया तेस्रो चरणको छनोटको पहिलो दुई खेलमा जितविहीन छ।

प्रकाशित मिति : ७ आश्विन २०८१ सोमबार ००:००  १ : ४७ बजे