२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

बुटवलको सिद्धार्थ केबलकारले आईपीओ जारी गर्ने



बुटवल ।

बुटवलमा रहेको सिद्धार्थ केबलकार लिमिटेडले सार्वजनिक शेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ ।

स्थापनाको ९ वर्ष तथा कम्पनीमा गएको १ वर्ष पूरा गरी बुटवलमा गरेको साधारणसभाले आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले जानकारी गराए । कम्पनीले आईपीओमार्फत १५ करोड रुपैयाँ बराबरको शेयर खोल्ने तयारी गरेको उनले जानकारी गराए ।

‘हामीले मापदण्ड पुर्‍याइसकेका छौँ । थप प्रक्रिया पूरा गरेर आईपीओ खोल्ने विषयमा साधारणसभाबाट कुरा अगाडि आएको छ । हामीले छिट्टै नै यसको औपचारिक घोषणा गर्दैछौँ,’ उनले भने ।

बुटवलको देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्म दुई किलोमिटर दुरीको केबलकार अहिले निर्माण भई सञ्चालनमा आएको छ । बुटवलबाट नुवाकोट जोड्ने सिद्धार्थ केबलकार यही चाडपर्वको अवसरमा औपचार उद्धाटन गर्ने तयारी सञ्चालकको छ ।

देउराली डाँडाबाट पाल्पाको ऐतिहासिक स्थल नुवाकोटसम्म केबलकारको दुरी २ किलोमिटर छ । केबलकार यात्राको ५ सय मिटर जंगलको बीचहुँदै यात्रा हुन्छ । बाँकी डेढ किलोमिटरको यात्रामा बुटवलसहित परपरसम्म दृष्यावलोकन गर्न सकिन्छ ।

नुवाकोट ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो । नुवाकोट विगतमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको ठाउँ हो । यही ठाउँमा बसेर कर्णेल उजिर सिंह नेतृत्वको सेनाले अंग्रेजलाई परास्त गर्न अद्वितीय युद्ध रणनीतिहरू प्रयोग गरेका थिए । यस्तै भैरव मन्दिर तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा जस्ता ऐतिहासिक सम्पदाहरू नुवाकोटमा छन् ।

सञ्चालक अनुपमान सैजुका अनुसार सातवटा कमलको फूल आकृतिको लोट्स पार्क बनेका छन् भने जसमध्ये ६ वटा बटम स्टेसनमा रएउटा टप स्टेसनमा छ । टप स्टेसनको कमलको फूलको आकृतिमाथि ५० फिट अग्लो बुद्धको मूर्ति बनाइएको छ भने त्यसबाहेक ढुंगेधारा, रेष्टुरेन्ट लगायतका संरचना बन्नेछन् ।

यता बुटवलमा भएको साधारणसभाले सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । कम्पनीले चार वर्षे कार्यकालको लागि राजेन्द्र शिह गुरुङलाई अध्यक्षमा चयन गरेको छ । प्रबन्ध सञ्चालकमा नवनिर्वाचित सञ्चालक प्रभुलाल अधिकारीलाई पहिलो बैठकले चयन गरेको निर्वाचन मण्डलका सञ्चालक अधिवक्ता बाबुराम भुसालले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१ शुक्रबार ००:००  ९ : १८ बजे