२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

गौतमबुद्ध विमानस्थलबाट धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेपछि व्यवसायी र यात्रु उत्साहित



रूपन्देही ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट शनिबार तीन विमानले उडान गरेपछि पश्चिम नेपालका यात्रु तथा यस क्षेत्रका उद्योगी र पर्यटन ब्यवसायी उत्साहित भएका छन् ।

विमानस्थल शुरु भएदेखि उडान सुरु गरेको जजिरा एयरलाइन्सले स्थगित गरेको थियो । तर, शनिबारदेखि फेरि शुरु गरेको छ । शनिबार बिहान एक सय ७१ यात्रु लिएर आएको जजिरा एक बालकसहित एक सय ६८ यात्रु लिएर उडेको थियो ।

त्यस्तै, फ्लाई दुबईले दिउँसो भैरहवामा १० जना यात्रु ल्यायो भने काठमाडौँका लागि पनि ठुलो संख्यामा यात्रु ल्याएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीले जानकारी दिए । उनका अन्ुसार शनिबार तीन उडान भएकोले अप्रेटर, व्यवसायी, पर्यटन ब्यवसायी खुसी भएका छन् ।

दुवईबाट भैरहवा आइपुगेका कपिलबस्तुका यात्रु नारायणप्रसाद आचार्यले पश्चिमतिरको यात्रुलाई निकै सजिलो भएको बताउदै भैरहवावाट कम समयमै घर पुगिनेमा खुसी ब्यक्त गरे ।

दुवईबाट सोझै भैरहवा उडान भएकोमा रूपन्देही देबदहका यात्रु अग्नि चापागाईंले निकै खुसी देखिए । उनले काठमाडौं झरेर सडक यातायातबाट आउन पनि कठिन भएको भन्दै सिधै भैरहवा उत्रँदा सजिलो भएको बताए ।

त्यस्तै, नेपाल एयरलाइन्सले राति उडान पनि शुरु गरेको छ । यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने शुक्रबार र शनिवार गरि विमानको संख्या चार पुगेको छ ।

जजिरा एयरले सातामा तीन दिन उडान गर्दैछ । मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतका लागि उड्ने सुचना अधिकारी बिनोदसिहं रावतले जानकारी दिए । यस्तै फ्लाइ दुबईले दैनिक उडान गर्ने र दिउँसो पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टापछि दुबई फिर्ता जाने छ ।

नेपाल एयरलाइन्सले सातामा तीनपटक काठमाडौँ–भैरहवा–दुबई उडान गर्नेछ । तिवारीका अनुसार आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौँबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ ।

कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता रहेको महाप्रबन्धक तिवारीले बताए ।

उनले दैनिक ३६ वटासम्म विमान भैरहवाबाट सञ्चालन गर्न सक्ने अवस्थामा रहेको बताउँदै भने, ‘अध्यागमनलगायत अन्य जनशक्ति अहिले पूरा छ, आवश्यकता अनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ र सुबिधा पनि थपिदै जानेछन् ।’

भैरहवा तथा यस आसपासका यात्रुहरु भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन् । पर्यटन क्षेत्रमा ठुलो सम्भावना देखेर अबाँै लगानी गरि तारे होटल निर्माण गरेका होटल ब्यवसायी पनि उत्साहित देखिएका छन् । विमानस्थल सञ्चालनमा आएसँगै यात्रु तथा यसक्षेत्रका उद्योगी ब्यवसायीले यसले अब निरन्तरता पाउनुपर्ने बताउँछन् । –दृष्टिन्यूजबाट

प्रकाशित मिति : २६ कार्तिक २०८१ सोमबार ००:००  ७ : ४२ बजे