२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

राजस्व अनुसन्धान बन्यो असुली अड्डा, निर्देशक राजन बीसीको सेटिङमा ६ वटा ट्रक छाडिए



काठमाडौं ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे छन् । तर विभाग भने निर्देशक (उपसचिव) राजन बीसीले चलाउने गरेका छन् । बिभागमा उनलाई छायाँ डीजीको संज्ञा दिने गरिएको छ ।

बीसी जस्ता बदनाम निर्देशकहरुकै कारण राजस्व अनुसन्धान विभाग पछिल्ला उद्योगी ब्यापारीलाई तर्साउने र भन्सार छलीका सामान भित्र्याउने तस्करहरुसँग फाइदा लिने निकायका रुपमा चिनिन थालेको छ ।

निर्देशक बीसीले विभागका महानिर्देशक घिमिरेलाई गुमराहमा पारी तस्कर र राजस्व चुहावट गर्नेहरुसँग सेटिङ मिलाउने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण बुधबार ललितपुरको लेलेबाट समातेर छाडिएका ६ वटा टिफरलाई लिन सकिन्छ । स्रोतका अनुसार १० टिफर गिटी राजस्व छलीको आशंकामा बिभागबाट खटिएको टोलीले समातिएकोमा ६ वटा सेटिङ मिलाएर सुटुक्क छाडिएको छ ।

४ टिफर विभागमा ल्याइएको छ । ६ टिफर निर्देशक बीसीले सेटिङ मिलाएर छाडेको स्रोतले बताएको छ । गिटी बोक्ने टिफरका मालिकसँग ठूलै रकम मोलतोल गरी ६ वटा सुटुक्क छाडेको आरोप निर्देशक बीसीमाथि लागेको छ ।

बर्षौदेखि बीसीको राजस्वमै रजगज

राजस्व अनुसन्धान विभागमा छायाँ डीजीको उपमा पाएका बीसीले २ र ३ नम्बर अनुसन्धान महाशाखाको प्रमुखको जिम्मा पाएका छन् । उनी राजस्व चुहावट गर्नेहरु र तस्करहरुको संजालसँग लामो समयदेखि जोडिएका उपसचिव हुन् । यसअघि राजस्व अनुसन्धान कार्यालय पथलैया र बुटवलको प्रमुख रहिसकेका बीसी हाल विभागको शक्तिशाली निर्देशक मानिन्छन् ।

लेलेबाट बिलबिजकमा बदमासी गरी राजस्व छली गरेको भेटिएपछि समातिसकेका ६ वटा टिफर सेटिङमा छाडिएको घटना प्रतिनिधि उदाहरण मात्र हो, राजस्व अनुसन्धान विभागका बीसी जस्ता निर्देशकहरु पछिल्ला दिनमा राजस्व चुहावट गर्नेहरुसँगै मिलेर लाभ लिइरहेका छन् । पथलैया र बुटवलको राजस्व प्रमुख हुँदा पनि बीसीले तस्कर ब्यापारीहरुसँग लाभ लिएको आरोप थियो ।

बिभागका महानिर्देशक घिमिरेले तिनै निर्देशकलाई बढी विश्वास गर्नाले विभागको छवि धुमिल हुँदैगएको छ । ब्यापारीहरुलाई तर्साउने र मोलतोल गर्ने बदनाम बिचौलिया उपेन्द्र शाहीसँग पनि निर्देशक बीसीको घनिष्ठ सम्बन्ध रहेको बताइन्छ । अहिले पनि शाहीले बीसीमार्फत् विभागभित्र चलखेल गर्ने, ब्यापारीलाई तर्साउने र तस्करीको लाइन चलाउन सेटिङमा बिचौलियाको काम गर्दैआएका छन् । शाहीकै कारण विगतमा बिभाग बदनाम भएको थियो । उनले डिपार्टमेन्टल स्टोरका संचालकसँग करोडौंको बार्गेनिङ गरेको बिषय संसदमै उठेको थियो ।

बर्षौंदेखि कार्यरत कर्मचारी हटाइए, प्रधानमन्त्री कार्यालयको निर्देशन अवज्ञा

राजस्व अनुसन्धान विभागमा बर्षौंदेखि कार्यरत कर्मचारीलाई हटाइएको छ । कम्युटर अप्रटेरमा कार्यरत ३ कर्मचारीलाई राम्रो काम गर्दागर्दै हटाइएको छ । आवश्यकताका आधारमा राखिएका ती कर्मचारी प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टी निकट कार्यकर्ताका आफन्त रहेकाले करार थप गर्न दिएको निर्देशन दिंदा पनि पालना नगरी हटाइएको छ ।

प्रधानमन्त्री ओलीका निजी सचिव विनोद कुँवरले उनीहरुको करार थप गर्नका लागि गरेको अनुरोधको समेत सुनुवाइ नभएको स्रोतले बताएको छ । -नेपालफेसबाट

प्रकाशित मिति : २९ कार्तिक २०८१ बिहिबार ००:००  १२ : ०० बजे