२३ मंसिर २०८१, आइतबार | Sun Dec 8 2024

सिद्धार्थ माविको नयाँ कार्यक्रमः ‘घर-घरमा करेसाबारी, खाने आफ्नै तरकारी’



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चीमा ‘घरघरमा करेसाबारी, खाने आफ्नै तरकारी’ कार्यक्रम शुभारम्भ भएको छ । कार्यक्रम विहिबार एक विद्यालय परिसरमै तयार पारिएको करेसाबारीमा तरकारीका विरुवाहरु रोपेर सुरु गरिएको विद्यालयका प्रधानाध्यापक दल बहादुर थापा ‘ईश्वर’ ले जानकारी दिए ।

उनका अनुसार करेसाबारीमा टमाटर, मुला, गोपी, लसुन, आलु, धनिया आदिका विउपल रोपिएको छ । उनले करेसाबारीमा उत्पादित तरकारी बेचेर आर्जन हुने पैसा बाल क्लव संचालनका लागि खर्च गर्ने योजना रहेको सुनाए ।

बाणगंगा नगरपालिका वडा नं.१ का वडाध्यक्ष सन्जु कुमार सारुले विधार्थीहरुलाई करेसाबारी सम्बन्धि प्रत्यक्ष ज्ञान, सिप हासिल गर्न यो कार्यक्रम महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । विद्यालयमा सिकेपछि आफ्नै घरमा पनि करेसाबारी निर्माण गरि अर्गानिक तरकारी उत्पादन गर्न विधार्थीहरुलाई यो कार्यक्रमले प्रेरणा दिने वडाध्यक्ष सारुको भनाई छ । बिषादीरहित तरकारीको उपभोगलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

बाणगंगा नगरपालिकाका कृषि विज्ञ पदम घिमिरेले नगरले यस्ता कार्यक्रमको सफल कार्यान्वयनका लागि पूर्ण रुपमा प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले रासायनिक मलको प्रयोगलाई न्युनिककरण गर्दै जैविक मलको प्रयोगलाई थप प्रोत्साहन गर्नुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्यमा लगानी गरि उच्चतम स्वास्थ्य प्राप्तितर्फ अग्रसर हुनुपर्ने आवश्यकता रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यस कार्यक्रम अन्तर्गत तरकारी, विउ उत्पादन गर्दै विधार्थीहरुलाई प्रयोगात्मक ज्ञान प्रदान गरिने बताए । उनले विषादीयुक्त तरकारीको प्रयोगले घातक रोगको सिकार हुनुपरेको बताए ।

अर्गानिक उत्पादन र उपयोगलाई दिगो बनाउन विद्यालयले विभिन्न सरोकारवालासंग सहकार्य गर्दै अघि बढ्ने उनले बताए । उनले यो कार्यक्रमसंगै विषादीमुक्त बाणगंगा निर्माण गर्ने अभियानको यो सुरुवात भएको बताए ।

सोही कार्यक्रममा वडाध्यक्ष सन्जु कुमार सारुले व्यक्तिगत लगानीमा १० वटा हजारी खरिद गरि विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रम विद्यालयका सहायक प्रअ अजित शर्माको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८१ शुक्रबार ००:००  ४ : ३९ बजे