११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

लुम्बिनीमा सकियो १० दिने शाक्यमोन्लम पूजा



लुम्बिनी ।
बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औँ १० दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ। विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिब ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीले पूजा गरेका हुन्। प्रणिधान र बुद्ध पाठले १० दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आकर्षित भएका थिए।

२५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षपछि मंसिर २३ देखि सुरु भएको थियो। लुम्बिनी विकास कोषको पहलमा ४१ औँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो। १० दिने मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितिमा समापन गरिएको हो।

भारतका ४१ औँ शाक्य ट्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सिर्जना गरेको छ। कोषका उपाध्यक्ष डा. लामाले शाक्य ट्रिछेन रिन्पोछे गुरुको उपस्थितीमा लुम्बिनीमा हजारौँ लामा, भिक्षु, उपासक उपासिकाहरु सहभागी भएर मोन्लम पूजा हुनु निकै ठूलो गौरव भएको बताए। लुम्बिनीबाट सुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि कोषसहित स्थानीय प्रशासन, स्थानीय सरकार, होटल व्यवसायी र आम नागरिकले समेत साथ दिनुपर्ने बताए।

प्राणीको कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो। हिमाली बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न वन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको थियो।

शाक्यमोन्लमले लुम्बिनी, भैरहवा क्षेत्रका होटल भरिभराउ भएको कोषका कार्यकारिणी सदस्य श्याम रोक्का जानकारी दिए। यो सिजनमा मोन्लम पूजाका कारण आर्थिक कारोबारसमेत राम्रो भएको होटल व्यवसायीहरुले बताएका छन्। पूजा अवधिभर विभिन्न धार्मिक गुरुदेखि सरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरू ४१ औँ शाक्य ट्रिछेन रिन्पोछेसँग आशीर्वाद लिन पुगेका थिए।

प्रकाशित मिति : ३ पुस २०८१ बुधबार ००:००  १२ : ४४ बजे