८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

नयाँ किरण उपभोक्ता सहकारी भर्लाबासको १३औं साधारणसभा सम्पन्न



जितपुर ।

वाणगंगा नगरपालिका–९ भलवाडमा रहेको नयाँ किरण उपभोक्ता सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष कमल पौडेलले सहकारीको महत्त्व, चुनौती, र स्थानीय कृषिलाई प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिएका थिए।

उनले वाणगंगा–९ को भर्लाबास क्षेत्रलाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्न वडा कार्यालय र नगरपालिकाबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाए। साथै, किसानहरूको उत्पादनको बजार व्यवस्थापन गर्न सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै सहकारीको प्रगतिमा सबै शेयर सदस्य र संस्थाका पदाधिकारीहरूले एक भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

साधारणसभाका अवसरमा जिल्ला बचत सहकारी संघका अध्यक्ष ध्रुव बेल्बासेले राज्यको तीन खम्बे आर्थिक नीतिमा सहकारीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा शुभकामना मन्तव्य राखिएको थियो। पत्रकार बाबुराम रायमाझी, सहकारीका संस्थापक अध्यक्ष भीमबहादुर पुन, र साना किसान बाल विकास केन्द्रका अध्यक्ष रेशमप्रसाद आचार्यले सहकारीको सफलताको कामना गरेका थिए।

साधारणसभामा कोषाध्यक्ष पोम प्रसाद अर्यालले आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १ करोड ७३ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरे। लेखा संयोजक माधुरी सेन ओलिले लेखापरीक्षण प्रतिवेदन सुझावसहित प्रस्तुत गरिन्।
सहकारी संस्थाले आफ्नो स्थापनाको १३ वर्षमा २०६८ सालदेखि दैनिक उपभोग्य वस्तुहरूको सस्तो पसल सञ्चालन गर्दै आएको छ। संस्थामा हाल २०८ जना शेयर सदस्य आबद्ध छन्। कार्यक्रममा सहभागीहरूले सहकारीले स्थानीयस्तरमा रोजगारी सिर्जना, कृषि उत्पादनको बजार व्यवस्थापन, र सदस्यहरूको आर्थिक प्रगतिमा पुर्याएको योगदानको प्रशंसा गरे।

संस्थाका अध्यक्ष देब बहादुर श्रीसले संस्थाको आगामी बर्षको निति तथा कार्यक्रम बारेमा बताउदै सहभागी सबैमा धन्यवाद प्रदान गरेका थिए ।कार्यक्रम संस्थाका ब्यबस्थापक मोतिकला पुनको सहजीकरणमा भएको थियो ।

यस वर्षको साधारणसभाले सहकारीको भावी योजनाका रूपमा थप उत्पादनमूलक र समाजमुखी परियोजनाहरू सञ्चालन गर्ने निर्णय गरेको छ। सहकारीको योगदानले स्थानीय समाजमा नयाँ किरणको आशा जगाउँदै आएको छ।

प्रकाशित मिति : १३ पुस २०८१ शनिबार ००:००  ७ : १८ बजे