६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

निर्मम तरिकाले कुकुर मार्ने दुई जना पक्राउ



नवलपुर ।

निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्।

५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका –५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार सारु मगर र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिए।

अमन र राजकुमारले नारायणी नदीको छेउ ठांडीघाटस्थित ५ नम्बर ठोक्कर नदीको छेउमा पुस १३ गते कुकुर र कुकुरका बच्चा मार्दै गरेकोमा भिडियो बनाई आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट पोष्ट गरेका थिए। उक्त भिडियोपछि कुकुर मार्नेहरुको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने आवाज चर्को गरी उठेको थियो।

यसरी निर्मम तरिकाले कुकुर र कुकुरका बच्चा मार्नु र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राख्ने कार्य मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उल्लङघन देखिएको भन्दै सो कसुरमा संलग्न दुई जनालाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिए। उनीहरुलाई जिल्ला अदालत परासीबाट पशुपन्छीसम्बन्धी कसुरमा सात दिनको म्याद थपी इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१ बिहिबार ००:००  ७ : २० बजे