४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

लेखराज भट्ट भन्छन्– म एमालेमै छु



धनगढी ।

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा आफूसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर गलत प्रचार गरिएको भन्दै भट्टले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी थिएँ तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यो भनेर कुप्रचार गरेको कुरा अबेर साँझ निवासमा पुगेपछि थाहा पाएँ’, भट्टले भने, ‘यो सबै कुरा भ्रम हो ।’

उनले विचार र सिद्धान्तले नसक्नेहरुले आफ्नो चरित्रहत्या गरेर विवादित बनाउने कुचेष्टा गरिरहेको बताए । ‘विचार र सिद्धान्तले नसक्नेहरुले एमाले छोडे भनेर भ्रम फैलाइरहेका छन् । म एमालेमै छु । आम जनता र कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दछु’, सचिव भट्टले भने ।

पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा स्टाटस लेख्दै एमाले सचिव लेखराज भट्टसहितका ४६ जनाले पार्टी परित्याग गरेको स्टाटस लेखेका थिए । पछि उनले उक्त स्टाटस हटाएका थिए । माओवादीकी नेता दुर्गा जोशी भट्टले पनि भट्टको जनयुद्धकालीन तस्वीर फेसबुकमा राख्दै ‘फाइनल्ली लेखराज भट्टले एमाले छाडेका छन्’ भनेर स्टाटस लेखेकी थिइन् । पूर्व माओवादी नेता लेखराज भट्टले नेकपा भंग भएपछि माओवादी छाडेर एमाले रोजेका थिए ।

के हो विवादको शृङ्खला ?

सोमबार मात्र एमाले सचिव भट्टको निर्वाचन क्षेत्रका कार्यकर्ताहरुले पार्टी छाडेको भन्दै एउटा विज्ञप्ति सार्वजनिक भएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको उक्त विज्ञप्तिमा भट्टको निर्वाचन क्षेत्रमा पर्ने गोदावरी नगरपालिकाकी नगर कमिटी सदस्य कल्पना कुमारी विक र उनका श्रीमान् समेत रहेका पूर्व नगर कमिटी सचिवालय सदस्य रुपलाल बिकसहितका ४६ जनाको हस्ताक्षर थियो ।

सोही विषयलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा लेखराज भट्टसहितका पूर्वमाओवादीले एमाले परित्याग गरेको भन्दै प्रचार गरिएको थियो । तर, मंगलबार पार्टी परित्याग गरेको भनेर सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख सेतु दमाइसहितका २८ जनाले विज्ञप्ति जारी गर्दै नगर कमिटी सदस्य विक र उनका श्रीमान् रुपलालले जारी गरेको विज्ञप्तिमा सत्यता नभएको बताएका छन् ।

उनीहरुले आफूहरु एमालेमै क्रियाशील भएको विज्ञप्तिमा लेखेका छन् । यो विषयलाई लिएर नै एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज भट्टले पार्टी परित्याग गरेको भन्दै प्रचार गरेको देखिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१ बुधबार ००:००  ७ : ५४ बजे