४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग



नवलपरासी ।

चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ। रामायणकालीन स्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो।

यहाँस्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताएका छन्। ‘आश्रम पत्ता लगाउने बेला गरिएको उत्खननमा भेटिएका भग्नावशेषहरू पनि संरक्षणको अभावमा हराउने गरेका छन्। मन्दिर वरिपरि पुरातात्विक अवशेषहरू जताततै छरिएका छन्, उनले भने।

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले वाल्मीकि आश्रम मन्दिरलाई संरक्षण, सम्वर्द्धन र विकास लागि पहल भइरहेको बताइन्। उनले नगरपालिकाले यस क्षेत्रलाई धार्मिक वनका रूपमा विकास गर्ने सोच बनाए पनि राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले समस्या रहेको बताइन्।

माडी–१ का वडाध्यक्ष अमितकुमार लामाले वडास्तरबाट हुने खानेपानी र शौचालयलगायतका काम गरिए पनि अन्य पूर्वाधार र संरक्षणका काममा सरकारकै पहल जरूरी रहेको बताए। उनले आश्रम पुग्नका लागि भारतको विहार हुँदै जानुपर्ने बाध्यता रहेको र केही महिनाअघि निकुञ्जको जङ्गलमा गोरेटो बाटो बनाइए पनि समस्या समाधान नभएको बताए।

उक्त बाटो प्रयोग गर्दा जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेकाले समस्या रहेको श्रद्धालुहरूले बताउने गरेका छन्। रासस

प्रकाशित मिति : २५ पुस २०८१ बिहिबार ००:००  ७ : ५४ बजे