वाणगंगा ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको २९ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित पाठेघर जाँच सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा १ सय ३० जनाले स्वास्थ्य जाँच गरेका छन् । कपिलवस्तुको वाणगंगा ४ स्थित संस्थाको कार्यालयमा आयोजित शिविरमा वाणगंगा नगरपालिका भित्रका १ सय ३० ले स्वास्थ्य जाँच गराएका हुन् । स्वास्थ्य शिविरमा ग्रामिण भेगका महिलाहरु बढी लाभान्वित छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रसुती रोग विशेषज्ञ डा. प्रिति खरेल, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर प्रशान्त आचार्य, नेपाल परिवार नियोजन संघ कपिलवस्तुकी स्टाप नर्स रिता लामिछाने सहितका चिकित्सकको टोलीले महिलाहरुको पाठेघरको स्वास्थ्य जाँच संगै आवश्यक औषधी उपचार गरेको थियो ।
पाठेघर जाँच गराउदा समस्या देखिएका ३१ जना महिलाको भिडियो एक्सरे सहितको उपचार सेवा दिइएको बरिष्ठ रेडियोलोजिष्ट डा. प्रशान्त आचार्यले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य जाँच गराएका महिलाहरुको पाठेघरको मुखेको क्यान्सर सम्बन्धी पहिलो स्क्रीनिङ्ग भएकाे थियो ।
शिविरको उद्घाटन गर्दै कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष शिवचन्द्र आचार्यले महिलाहरुले नियमित रुपमा आफनो स्वास्थ्य जाँच गराउन सुझाउनुभएको छ ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यकुमारी शाहीले सामाजिक क्षेत्रमा संस्थाले विगत लामो समयदेखि काम गरिरहेकाले ग्रामिण महिलाहरुको स्वास्थ्यमा सहयोग पु¥याउन निशुल्क स्वास्थ्य शिविर राखेको बताउनुभयो । उहाँले विशेषज्ञ डाक्टर सहितको प्राविधिक टिमलाई धन्यवाद दिदै पछिल्लो समय क्यान्सरका बिरामी धेरै भेटिएकाले समय समयमा शिविर संचालन गरेर स्वास्थ्य जाच गर्न आवश्यक भएको बताउनुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, कपिलवस्तु सिटी एण्ड डाइग्नोष्टीक सेन्न्टर चारनम्बर, कपिलवस्तु सामुदायिक अस्पताल तथा सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा शिविर सम्पन्न भएको आन्तरिक कार्यक्रम समितिका संयोजक रोमकान्त घिमिरेले जानकारी दिनुभयो । उहाँले अझै पनि धेरै महिलाहरुले आफुमा भएको रोगहरु लाज र संकोचका कारण लुकाउदा यसले बिकाराल समस्या निम्ताउने गरेको बताउनुभयो ।

प्रतिक्रिया