५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

भूमि आयोगका पदाधिकारी, विज्ञसंग सराेकारवालाकाे संयुक्त छलफल



बाणगंगा ।

बाणगंगा नगरपालिकाको आयाेजनामा भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय पदाधिकारी, विज्ञ सहितकाे सराेकारवालासंग कार्यालयमा आज छलफल भएकाे छ ।

कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले विकास र सुशासनका लागि सरकारले अध्यादेश ल्याएको बताईएकी छिन् । सरकारका काम कारबाहीलाई छिटो छरितो रुपमा सम्पादन गर्न सरकारले अध्यादेश ल्याएको उनको भनाई छ ।

विहिबार बाणगंगा नगरपालिकाको कार्यालयमा हालै गठित भूमि सम्बन्धि समस्या समाधान आयोगका पदाधिकारीहरुसंगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले यस्तो बताएकी हुन् ।

अध्यादेशहरु शुक्रबार नै संसदका दुवै सदनमा पेस हुने बताउँदै उनले ति पेस गरिएका अध्यादेशहरु आवश्यक प्रक्रिया पुरा गरि पारित हुने बताईन् । उनले त्यसका लागि आवश्यक छलफल निरन्तर रुपमा हुदैं आएको बताईन् ।

उनले आवश्यक कानुन निर्माण नहुँदा सरकारले चाहेका कामहरु समेत गर्न नसकेको बताईन् । प्रतिनिधि सभाका विभिन्न समितिमा २८ वटा भन्दा बढी विधेयकहरु छलफलका क्रममा रहेको बताउँदै उनले भनिन्,‘४ वटा विधेयकहरु राष्ट्रिय सभामा छलफलमा थिए । ३ वटा विधेयक पारित भईसकेका छन् । एउटा विधेयक मात्र छलफलमा छ ।’

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले हालै गठित भूमि सम्बन्धि समस्या समाधान आयोगले सम्पूर्ण भूमि सम्बन्धि समस्याहरु निरुपण गर्ने विश्वास व्यक्त गरे । उनले नेपालकै एउटा मुख्य समस्याका रुपमा रहदैं आएको भूमि सम्बन्धि समस्यालाई सधैका लागि बाणगंगाबाट उन्मूलन पार्न आफुहरुले चाहेको बताए ।

उनले बाणगंगा नगरपालिकामा ३ हजार ६८४ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन संकलन गरि ३ पुस्ते विवरण तयारीसहित थप प्रक्रियाका लागि भूमि सुधार तथा मालपोत कार्यालयमा पठाईएको जानकारी दिए । नाप नक्सा सुचारु गर्न नगरभित्रका ७२ वटा ब्लकहरु सहजीकरण समिति तथा कार्यापालिकाबाट पास गरि जिल्ला समितिमा सिफारिस गरेको उनले जानकारी दिए । उनले ३ ब्ल्कको नाप नक्साका लागि स्वीकृत भएको जानकारी दिदैं २ वटा ब्लकको काम समेत सम्पन्न गरेको बताए । आवश्यक जनशक्तिको अभावमा नाप नक्साकोे काम अघि नबढेकाले आयोगसंग व्यवस्था गर्न माग गरे ।

भूमि सम्बन्धि समस्या समाधान आयोगका सदस्य जगत बस्नेतले आयोगले पुरानै विन्दुबाट कामको थालनी गर्न लागेको बताए । उनले जिल्ला र पालिकालाई लक्ष्य निर्धारण गरेर कामलाई तीब्र रुपमा अघि बढाउने बताए ।

आगामी मंसिरसम्म एक लाख लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य रहेको उनले बताए । उनले सरलदेखि जटिलताको सिद्धान्तमा टेकेर आयोगले काम अघि बढाउने बताए । उनले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पारे ।

कार्यक्रममा सहभागीहरुले आफ्ना क्षेत्रमा देखिएका भूमि सम्बन्धि समस्याहरु राख्दै यथाशिघ्र समाधान गर्न आग्रह गरेका थिए । उनीहरुले वास्तविक भूमिहिनको पहिचान गरेर अयोगले न्यायोचित तवरले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजाल, लुम्बिनी प्रदेश सांसद गिरिधारीलाल न्यौपाने, संविधान सभा सदस्य विश्राम प्रसाद चौधरी, उपप्रमुख रिता कुमारी चौधरी, आयोगका केन्द्रिय सदस्यहरु, आयोगका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जनप्रतिनिधि, नगरवासी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१ बिहिबार ००:००  ८ : ४५ बजे