१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025

स्थानीय महिलाहरुको रोजगारी प्रवर्धनका लागि उद्यमशीलता कार्यक्रम



वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा स्थानीय महिलाहरुको आर्थिक सशक्तिकरणका लागि उद्यमशीलता प्रवर्धन कार्यक्रम शुरु भएको छ । उद्यमशीलता कार्यक्रमको उद्घाटन गर्दै शिवमन्दिर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष झलक बहादुर मल्लले सफलताको शुभकामना व्यक्त गरे । माघ २० गतेदेखि ३० गतेसम्म संचालन हुने उद्यमशीलता प्रवर्धन कार्यक्रमले स्वरोजगार बनाउदै महिलाहरुलाई आर्थिक सशक्तिकरण गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका समूहका अध्यक्ष झलक बहादुर मल्लले सामुदायिक बनको हैसियत सुधार गर्दै लगिएको उल्लेख गर्दै वातावरण संरक्षणमा आफ्नो प्रतिवद्धता व्यक्त गरे। उनले महिलाहरुलाई स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्न संस्थाले निरन्तर सहकार्य गरिरहेको बताए।

सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्य कुमारी शाहीले महिलाहरुलाई कागजको झोला उत्पादन तथा बजारीकरणमा विभिन्न निकायहरुसँग सहकार्य गर्दै अगाडि बढिरहेको जानकारी दिइन्। साथै, संस्थाले वातावरण संरक्षणलाई प्रवर्द्धन गर्दै महिला उद्यमशीलता मार्फत स्वरोजगार सिर्जना गर्ने योजना अघि बढाएको बताइन्।

कार्यक्रममा संस्थाका सचिव दुर्गा अर्यालले उद्यमशीलताको अवधारणा तथा कागज उद्योगमा महिलाहरुको सहभागिताको महत्त्वबारे विस्तृत प्रस्तुति गरेका थिए। त्यस्तै, संस्थाकी कोषाध्यक्ष शोभा आचार्यले व्यवहारिक ज्ञानका साथै सिपमूलक तालिम प्रदान गरी महिलाहरुलाई उद्यमशीलतामा जोड्ने संस्थाको लक्ष्य रहेको उल्लेख गरिन्।

सोही अवसरमा संस्थाका उपाध्यक्ष हरिलाल शर्माले महिलाहरुलाई स्वावलम्बी, पारस्परिक र आयआर्जनमुखी बनाउन आवश्यक उपायहरुबारे प्रकाश पारे। उनले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै समाजमा सामुहिक र सहकार्यको भावनाले अघि बढ्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले महिला उद्यमशीलताको प्रवर्द्धन, आर्थिक सशक्तिकरण, वातावरण संरक्षण लगायतका विभिन्न विषयमा आ(आफ्ना विचार राखेका थिए। सूर्य कुमारी शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोजक तथा सहभागीहरुले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २१ माघ २०८१ सोमबार ००:००  १ : २८ बजे