२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

एमाले जनसंगठन संयन्त्र बैठक, युवाको भरोसा एमालेमै : इन्चार्ज न्यौपाने



बाबुराम रायमाझी,वाणगंगा ।
नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा पार्टीका जनबर्गीय संगठनहरूको संयन्त्र बैठक आज सम्पन्न भएको छ। बाणगंगा नगर कमिटीको कार्यालय बैरियामा आयोजित उक्त बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तुका पार्टी इन्चार्ज एवं लुम्बिनी प्रदेशसभा सांसद गिरधारीलाल न्यौपानेले युवाहरुको भरोसायोग्य पार्टी एमाले मात्रै भएको बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद न्यौपानेले एमाले पार्टीप्रति युवाहरूको ठूलो भरोसा रहेको उल्लेख गर्दै पार्टीको रचनात्मक कार्यशैलीका कारण युवाहरुको आकर्षण बढेकाले विपक्षीहरू अतालिएको दाबी गरे। उनले पार्टीले सञ्चालन गरेको तीन महिने वडा केन्द्रित ‘जरा अभियान’लाई सफल बनाउन जनताको घरदैलोमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार गर्न आग्रह गरे।

प्रदेश कमिटीका सदस्य धर्म भुसालले पार्टीको पहिलो तह नै ‘ग्रासरुट’ भएकाले वडा कमिटीमार्फत संगठन विस्तार गर्नुपर्ने धारणा राखे। उनले जनस्तरमा सक्रियता बढाउन पार्टी संगठनलाई अझै सशक्त बनाउनु आवश्यक रहेको बताएका थिए।

यसैगरी, जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले तीन महिने वडा केन्द्रित अभियानलाई व्यापक बनाउन जोड दिए। उनले २३ वटा जनसंगठनहरू सक्रिय रूपमा सञ्चालनमा ल्याउनु पर्ने आवश्यकतामा पनि जोड दिए।

बैठकमा सहभागी विभिन्न जनसंगठनका प्रतिनिधिहरूले आफ्नो संगठनको गतिविधि, उपलब्धि र आगामी योजना बारे जानकारी गराएका थिए।

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने, बैठकको सञ्चालन जिल्ला कमिटी सचिव सिबी गहतराजले गरेका थिए। वैठकमा जिल्ला नेता सुन्दरा दर्लामी,जनसंगठनका िजल्ला नेता, अध्यक्षहरू लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१ आइतबार ००:००  ९ : २० बजे