२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मछिन्द्र एफसी तिलौराकोट गोल्डकपको फाइनलमा



कपिलवस्तु ।

मछिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा जोङ्ग्री एफसी सिक्किमविरुद्ध १−० गोलको रोमाञ्चक जित निकाल्दै मछिन्द्रले फाइनलमा थ्रीस्टारसंगको भेट पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा विमलले ५३औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । सिक्किमले गोल फर्काउन नसकेपछि विमलको उक्त गोल नै मछिन्द्रलाई फाइनल यात्रा तय गराउन निर्णायक सावित भयो ।

मछिन्द्रका कप्तान समेत रहेका विमल नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । विमललाई बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नगद र ट्रफी हस्तान्तरण गरेका थिए ।

आईतबार भएको पहिलो सेमिफाईनल खेलमा संकटा एफसीविरुद्ध १−० गोलको रोमाञ्चक जित निकाल्दै थ्रीस्टार एफसी ललितपुर फाईनलमा पुगीसकेको छ ।

अब बुधबार दिउँसो ३ बजे दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार र मछिन्द्र भिड्ने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिता बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१ सोमबार ००:००  ६ : ५५ बजे