१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

जी-७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई निम्तो



एजेन्सी ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी- ७ शिखर सम्मेलनमा आमन्त्रण गरेका छन्।

गत हप्ता कार्यभार सम्हालेका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गर्नुभएको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, ‘राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी- ७ बैठकमा आमन्त्रित गरिएको छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि रुस(युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो।

गत हप्ता क्युबेकमा भएको जी-७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो।

तर त्यस्तो भाषा शुक्रबार जी- ७ बैठकमा जारी विदेशमन्त्रीहरूको अन्तिम बयानमा समावेश थियो। यो रुसले अमेरिकी नेतृत्वको युद्धविराम पहलका शर्तहरू तत्काल स्वीकार गरेन भन्ने सन्दर्भमा सम्भवतः वासिङ्टनमा निराशाको सङ्केत हो।

यस हप्ता पेरिस र लण्डनको भ्रमण गरिरहनुभएका कार्नीले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै जेलेन्स्कीले आफ्नो कलमा ‘युक्रेनको रक्षा र शान्तिलाई अगाडि बढाउनका लागि विश्वव्यापी प्रयासहरू’ बारे अपडेट दिएको बताए।

‘क्यानाडा रुसी आक्रमणविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँलाई दृढतापूर्वक समर्थन गर्दछ’, उनले भने। ​जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्नीसँगको कुराकानीलाई ‘राम्रो र सारगर्भित’ भनेका छन्

उनले ‘क्यानाडालाई सहयोग, विशेष गरी रक्षा प्याकेजहरू र हाम्रो ऊर्जा क्षेत्रको समर्थनका लागि धन्यवाद दिएको’ र ‘मस्कोमाथि दबाब बढाउनुपर्ने सही बुँदाहरू’ उठाएकामा कार्नीको प्रशंसा गरेको बताए।

यो वर्षको जी(७ अध्यक्षता गर्ने क्यानडाले जुन १५-१७ मा अल्बर्टाको कानानास्किसमा शिखर सम्मेलनको आयोजना गर्नेछ।

प्रकाशित मिति : ४ चैत्र २०८१ मंगलबार ००:००  ७ : २७ बजे