८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

शिक्षकहरुको आन्दोलन निरन्तर रहने



काठमाण्डौ ।

नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर आफूहरूले उठाएका मागप्रति सरकार अझै पनि अनुदार रहेको भन्दै आन्दोलन नरोकिने बताउनुभएको छ ।

उहाँले आज पनि हिजोअस्ति जस्तै माइतीघरमा दिउँसो १२ बजे शिक्षकहरु भेला भएर विरोध प्रदर्शन गर्ने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्नेलगायतका माग राखेर देशभरका शिक्षकहरुले १५ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच, कक्षा १२ को परीक्षा र नयाँ भर्ना अभियानसमेत बहिस्कार गरेका छन् ।

यसअघि हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालयमा फर्किन शिक्षकहरूलाई आग्रह गरेको थियो ।

साथै सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

सङ्घीय संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२ बुधबार ००:००  ९ : २१ बजे