चितवन ।
पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिर जान केबलकार बनेसँगै भक्तजनहरुसमेत बढेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाले मन्दिर आउने भक्तजनको संख्या केबलकार बनेपछि करिब ३० प्रतिशतले बढेको बताए । मन्दिर जान पैदल मार्ग तथा सडकमार्ग भए पनि झण्डै २ लाखभन्दा बढी भक्तजन केबलकारबाट मन्दिर आउने गरेको अध्यक्ष सापकोटाको भनाइ छ ।
एकातिर कालीगण्डकी करिडोरबाट चिसापानी हुँदै सडक मार्गबाट मन्दिर जान सकिन्छ भने अर्कोतिर गणेश मन्दिर चुहार खोला हुँदै सडक मार्गबाट नै मन्दिर जान पनि सकिन्छ । गैंडाकोटको फेदीबाट पेटीको पैदलमार्ग भएर पनि कतिपय भक्तजनहरू मन्दिर जाने गरेको अध्यक्ष सापकोटाले बताए ।
उनका अनुसार मन्दिरको दर्शन गर्न वार्षिक ५ लाखभन्दा बढी भक्तजन आउने गर्दछन् । अन्य दिनमा भन्दा शनिबारको दिनमा भक्तजन बढी आउने गरेको अध्यक्ष सापकोटाले जानकारी दिए । नयाँ वर्ष, बडा दशैं, चैते दशैं जस्ता पर्वमा मन्दिरमा भक्तजनको भिड बढी हुने गरेको छ ।
मन्दिर र नगरपालिकाको आम्दानी बढ्यो
केबलकार बनेपछि भक्तजनको संख्या अन्य दिनहरुमा पनि बढेको र मन्दिरको आम्दानीसमेत बढेको अध्यक्ष सापकोटाले बताए ।
केबलकार प्रयोगकर्ताको प्रतिटिकट ३ रुपैयाँ मन्दिरले पाउने गरेको छ । केबलकारबाट समेत मन्दिरको कूल आम्दानी वार्षिक १ करोड ९२ लाख रहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
केबलकारले मन्दिरको मात्र नभई स्थानीय गैंडाकोट नगरपालिकाको समेत राजश्व बढेको छ । केबलकारले २०८० सालमा २१ लाख ९० हजार र २०८१ सालमा २० लाख ११ हजार राजश्व बुझाएको नगरपालिकाको तथ्यांक छ ।
केबलकारको टिकट नेपालीलाई ६७५, सार्क देशकालाई १ हजार नेपाली रुपैयाँ र तेस्रो देशका विदेशीलाई १५ डलर लिने गरिएको छ । ७ वर्षभन्दा तल र ८० वर्ष माथिका वृद्धवृद्धालाई टिकट निःशुल्क गरिएको छ ।
टिकटमा विद्यार्थीलाई २५ प्रतिशत र स्थानीयलाई ४० प्रतिशत, ७० देखि ७९ बर्षका भक्तजनलाई २५ प्रतिशत छुट दिने गरिएको छ ।
२४ देशका नागरिक पनि पुगे मौलाकालिका
मौलाकाली केबलकारका स्टेशन इन्चार्ज सुरज पौडेलले केबलकार बनेपछि मौलाकालिका मन्दिरको समेत थप प्रचारप्रसार भएको बताए । उनका अनुसार ६५ जिल्लाका भक्तजनहरू मन्दिरमा दर्शनका लागि पुगेका छन् । विभिन्न २४ देशका नागरिक पनि केबलकार हुँदै मन्दिर पुगेको देखिएको मौलाकाली केबलकारका स्टेशन इन्चार्ज पौडेलले बताए ।
हिँडेर जान नसक्ने अशक्त, अपाङ्ग र वृद्धवृद्धाहरू केबलकारबाट मन्दिरको दर्शन गर्न जान सक्ने भएका छन् । १ सय वर्षभन्दा माथिका वृद्धवृद्धाहरू पनि केबलकार चढेर मन्दिर पुगेको स्टेशन इन्चार्ज पौडेलले बताए ।
प्रतिक्रिया