२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध हट्ला ?



काठमाडौं ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरुबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

जेठ २० गतेदेखि बैठक बोलाइए पनि विपक्षी दलको अवरोधका कारण बस्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २० गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् ।

सहमतिका लागि दलहरुबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन ।

आजको बैठक कार्यसूचीमा प्रवेश गर्छ कि गर्दैन भन्ने निश्चित छैन । वैठक अवरुद्ध हुँदा बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।

हिजो रास्वपाबाहेकका विपक्षी दलसँग दुईबुँदे सहमति भएको छ । यसमा रास्वपाले भने समय मागेको छ । यदि, रास्वपा पनि सहमत भयो भने बैठक सुचारु हुनेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२ शुक्रबार ००:००  ६ : ०८ बजे