१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

जनउत्थान साकोसको अध्ययन अवलोकनमा सिद्धार्थ साकोसको टोली



वाणगंगा ।

कपिलवस्तुको वाणगंगा–४ स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारी, सदस्य, उपसमिति र कर्मचारीहरू सम्मिलित टोलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको जनउत्थान साकोसको अध्ययन अवलोकन गरेको छ। बुधबार सम्पन्न उक्त कार्यक्रममा अन्तरक्रियात्मक सत्र समेत आयोजना गरिएको थियो।

लुम्बिनी प्रदेशमै उत्कृष्ट सहकारीका रूपमा स्थापित जनउत्थान साकोसको स्थापना कालदेखि हालसम्मका गतिविधिहरूको विस्तृत जानकारी प्रमुख प्रशासकीय अधिकृत रन बहादुर थापाले प्रस्तुत गर्नुभयो। उहाँका अनुसार, आ.व. २०८२ असार मसान्तसम्म सहकारीको कुल सम्पत्ति ४ अर्ब ४४ करोड रुपैयाँ नाघेको छ भने शेयर पूँजी २८ करोडभन्दा बढी पुगेको छ।

रुपन्देही जिल्लाभर कार्यक्षेत्र विस्तार गरिरहेको सहकारीले हाल ८ वटा संकलन केन्द्र र १० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। तिलोत्तमा–१५ कोटिहवामा मुख्य कार्यालय रहेको सहकारीले ‘गर्भदेखि स्वर्गसम्म’ सदस्य सेवा कार्यक्रम, राहत कार्यक्रम, मिस्डकल सेवा लगायतका नवीन अभ्यास तथा कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ।

सहकारीका ३९ हजार २३७ जना सदस्यहरू छन् भने ऋणी संख्या १० हजार ८९१ रहेको जानकारी प्रमुख प्रशासकीय अधिकृत थापाले दिनुभयो। सहकारीले राष्ट्रिय, प्रादेशिक तथा जिल्ला तहमा विभिन्न समयहरूमा पुरस्कार तथा सम्मानहरू समेत प्राप्त गरिसकेको छ।

अवलोकन भ्रमणको क्रममा सिद्धार्थ साकोसका व्यवस्थापक हरिलाल शर्मा, अध्यक्ष देवकला सुवेदी, उपाध्यक्ष गीता भुसाल, सचिव शोभा आचार्य, कोषाध्यक्ष हरि अधिकारी, लेखा सुपरिवेक्षण संयोजक तिलोचन घिमिरेलगायतका पदाधिकारीहरूले विविध जिज्ञासा राख्दै अन्तरक्रियामा सहभागिता जनाएका थिए।

प्रकाशित मिति : २२ श्रावण २०८२ बिहिबार ००:००  ९ : १५ बजे