२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आज पनि कपिलवस्तुसहित केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना



काठमाण्डौ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

स्याङ्जा, पर्वत, कास्की, पाल्पा, रूपन्देही, गुल्मी, कपिलवस्तु, बाँके, दाङ, कैलाली, कञ्चनपुर लगायतका ठाउँमा ठूलो पानी परेको हो । दाङको तुलसीपुर, बेलझुण्डी र बागासोती वर्षामापन केन्द्र, बाँकेको सिक्टा र बैजापुर वर्षामापन केन्द्र, कपिलवस्तुको भगवानपुर वर्षामापन केन्द्रमा ठूलो पानी परेकाले सतर्कता अपनाउन भनिएको छ ।

यस्तै स्याङ्जाको आँधीखोला जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकोले नदी तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरुमा तथा कोशी र बागमती प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा निकै ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८२ सोमबार ००:००  ८ : ५८ बजे