३० कार्तिक २०८२, आइतबार | Mon Nov 17 2025

यसवर्षको मनसुन बाहिरिन सुरू



काठमाडौं ।
तीन दिनको निरन्तरको वर्षापछि नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरू गरेको छ। आज सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसबर्ष गत जेठ १५ गते भित्रिएको मनसुन असार ६ गते देशभर फैलिएको थियो। विभागले मनसुन बर्हिगमनको अवस्थाबारे विशेष जानकारी गराउँदै देशको धेरै भूभागबाट मनसुन बाहिरिसकेको जनाएको छ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् असोज १६ गते रहे पनि उत्तरार्धमा पुगेका बेला पुन सक्रिय हुँदा ठूलो जनधनको क्षति भएको छ।

मनसुन बाहिरिने बेलामा बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि हिजोसम्म लगातार बर्षा हुँदा आएको बाढी पहिरोले करिब ५० जनाको मृत्यु हुनुका साथै १० अर्बमाथिको क्षति भइसकेको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको थियो।

प्रकाशित मिति : २० आश्विन २०८२ सोमबार ००:००  ३ : २० बजे