३० कार्तिक २०८२, आइतबार | Mon Nov 17 2025

अफ्रिकामा एमपक्सबाट सङ्क्रमित दुई हजार जनाभन्दा धेरैको ज्यान गएको तथ्याङ्क सार्वजनिक



एजेन्सी ।
सन् २०२४ को शुरूदेखि अफ्रिकामा फैलिएको एमपक्स संक्रमणबाट ज्यान गुमाउनेहरुको सङ्ख्या अहिलेसम्म दुई हजार जनाभन्दा धेरै पुगेको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९अफ्रिका सिडिसी० का अनुसार एमपक्स सङ्क्रमितको सङ्ख्या अहिलेसम्म दुई लाख नजिक पुगेको छ ।

अफ्रिका सीडीसीका कार्यकारी प्रमुख ङाशी एनगोगोका अनुसार एमपक्स प्रभावित २९ अफ्रिकी देशहरूले सन् २०२४ को शुरूदेखि अहिलेसम्म एक लाख ९८ हजार ७ सय ४९ व्यक्तिमा एमपक्सको शङ्कास्पद सङ्क्रमण रिपोर्ट गरेका समाचार संस्था एएफपीले जनाएको छ । ५४ हजार ५ सय २५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र एमपक्स सङ्क्रमितमध्ये दुई हजार ६६ जनाको ज्यान गएको छ ।

पहिले मङ्कीपक्स भनेर चिनिने एमपक्स पहिलो पटक सन् १९५८ मा प्रयोगशालामा बाँदरमा देखिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो जुन सामान्यतया शरीरको तरल पदार्थ, श्वासप्रश्वासमा आउने थुकका छिटा र दूषित सामग्रीमार्फत सर्छ । सङ्क्रमणपछि बिरामीमा प्रायः ज्वरो आउने र डाबर देखिने गर्छ ।

अफ्रिका सिडिसीले सन् २०२४ अगस्टमा प्रकोपलाई महाद्वीपीय सुरक्षाको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । यसलाई पछि विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८२ शनिबार ००:००  ११ : १९ बजे