१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

श्रृगिंघाट सामुदायिक वनको १३औं साधारणसभा सम्पन्न



बाबुराम रायमाझी, कपिलवस्तु ।

“रुख रोपौं, बन जोगाऔं” भन्ने मूल नाराका साथ कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–१ मा अवस्थित श्रृगिंघाट सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

कार्यक्रममा समूहकी सचिव शुस्मा खाणले आ.ब. २०८१।८२ को वार्षिक प्रगतिविवरण प्रस्तुत गरेकी थिइन्। उनले समूहले गत वर्षमा बन संरक्षण, वन पैदावर व्यवस्थापन, दिगो वातावरणीय सन्तुलन र समुदायमुखी विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताइन्। त्यसैगरी कोषाध्यक्ष विना रानाले सोही आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गरेकी थिइन्।

साधारणसभामा समूहका अध्यक्ष शुसिल सिंह ठकुरीले संस्थाको भविष्यका रणनीति र आगामी कार्ययोजना प्रस्तुत गर्दै सामुदायिक वनको दिगोपनका लागि स्थानीय तह, उपभोक्ता तथा सरोकारवालासँग सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी ०८२।८३ का लागि ९ करोड ३५ लाख बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले सामुदायिक वनले आफ्नो नीति, नियम र योजना अनुसार पारदर्शी रूपमा काम गर्नुपर्ने बताए । अहिलेको नयाँ प्रविधीको उच्चतम प्रयोग गरेर सुशासन र पारदर्शीतामा जाेड दिनु पर्ने बताए । अहिलेको युवा पुस्ताको माग पनि त्यहि भएकाले श्रृृगिंघाट सामुदायिक बनले सोही तर्फ नीति कार्यक्रम केन्द्रित गरेको समेत प्रमुख पाैडेलले बताए ।

उनले वन संरक्षणसँगै वन उत्पादनको सदुपयोग गर्दै सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्‍याउने किसिमका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरेका थिए । साथै उनले सामुदायिक वनले स्थानीय सरकारसँग सहकार्य गर्दै आएको भूमिकाको प्रशंसा गरेका थिए । संक्रमणकालीन अवस्थामा बनमा चोरी निकासी अनियिमतता बढ्ने भएकाले त्यसतर्फ उपभोक्ता सचेत भएर निगरानी गर्नुपर्नेमा जोड दिएका थिए।

साधारण सभामा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरे, समाजसेवी विष्णु थापा, सामुदायिक वन, लुम्बिनी वन पैदावर समितिका अध्यक्ष रुकबहादुर भुसाल, बन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई र वैज्ञानिक वन व्यवस्थापन महासंघकी केन्द्रीय अध्यक्ष रेनु सेन लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने बन हेरालु र कार्यसमिति सदस्यहरूलाई नगद र प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो।

५ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको श्रृगिंघाट सामुदायिक वनबाट वाणगंगा नगरपालिका–१, ३, ४ र ५ का १४ मौजाका २ हजार ४३ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। यस सामुदायिक वनले बन संरक्षण, वन पैदावरको दिगो उपयोग, विपन्न परिवारका लागि रोजगारी सृजनाजस्ता रचनात्मक तथा सिर्जनात्मक कार्य गर्दै नगरमै नमुना वनको रूपमा स्थापित भइरहेको छ।

अध्यक्ष शुसिल सिंह ठकुरीले अतिथी र सरोकारवालालाइ धन्यवाद सहित मायाको चिनो प्रदान गर्दै साधारणसभाको समापन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य समूहका उपाध्यक्ष बुद्धबहादुर शाहीले गरेका थिए भने सञ्चालन समूहकी सचिव शुस्मा खाणले गरेकी थिइन्। लेखा समितिका संयोजक गुरुदेब पौडेलले लेखा प्रतिवेदन सुझावसहित पेश गरेका थिए।

साधारण सभामा १४ मौजाका प्रतिनिधी, छिमेकी सामुदायिक वनका अध्यक्षहरू, समाजसेवी, पत्रकार, बुद्धिजीवी र स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति : २६ आश्विन २०८२ आइतबार ००:००  ७ : २५ बजे