१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मर्यादित श्रम अधिकारको लागि शिवराजमा सचेतना र्‍याली



चन्द्रौटा ।

कपिलवस्तुको शिवराज चन्द्रौटामा मर्यादित श्रम अधिकारको सुनिश्चितताको लागि सचेतनामूलक र्‍याली सम्पन्न भएको छ। राज्यले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नका लागि श्रमिकहरुले आफनो हक अधिकार पाउनु पर्ने दावी गरेका हुन् । श्रमिकहरुले स्थानीय पालिका सहित ३ तहका सरकारले श्रम एेन कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने जोड दिएका छन् । सभामा श्रमिक महिलाहरूले राज्यले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने, कार्यस्थलमा सुरक्षित हुनुपर्ने, र श्रमशोषणमुक्त नगरपालिका घोषणा गर्नुपर्ने माग राखेका थिए।
श्रमको सम्मान र अधिकारको सुनिश्चितताका लागि सरकारले आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्नेमा सहज नेपालकी उपाध्यक्ष तथा दलित महिला अधिकारकर्मी मिना परियारले जोड दिनुभयो।

शिवराज नगरपालिकाले श्रमिक महिलाहरूको पक्षमा विशेष कानुन निर्माणको तयारीमा रहेको महिला शाखा प्रमुख जिवा केसिले बताउनुभयो। “समान कामको समान ज्याला” भन्ने नारासहित शिवराज नगरपालिकाको दुर्गा मन्दिरबाट र्‍याली सुरु भई चन्द्रौटा चोकमा कोणसभा गरी सम्पन्न भएको हो।

शिवराज नगरपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय तथा शिवराज महिला श्रमिक सञ्जालको आयोजनामा सम्पन्न कोणसभा सृष्टि घिमिरेको अध्यक्षता, सहायक कार्यक्रम अधिकृत सञ्जीव गहतराजको स्वागत र सामाजिक परिचालक सबिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो।

प्रकाशित मिति : २७ आश्विन २०८२ सोमबार ००:००  ७ : ५३ बजे