वाणगंगा ।
कपिलवस्तुकाे वाणगंगा १ जीतपुरमा अवस्थीत गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आठौं वार्षिक साधारण सभा आफनै कार्यालयमा सम्पन्न भएको छ । बाणगंगा नगरपालिका वडा न.१ र ४ क्षेत्रमा सेवा प्रदान गर्दै आएको समितिकाे १६ सय घरधुरी उपभाेक्ता रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नगरले सबैको सल्लाह सुझावलाई समेटेर खानेपानी सम्बन्धि ऐन कार्यविधि निर्माण गरेको बताउँदै हाल नगरका करिब ६० प्रतिशत घरदुरीमा खानेपानी पुगिसकेको बताउनुभयो । नगरले १५ बर्षे कार्ययोजना निर्माण गरेर सबै जनताको घरघरमा स्वच्छ र शुद्ध खानेपानीको पहुँच पुर्याउन दिर्घकालीन सोचसहित काम गरेको उहाँको भनाई छ ।
नगरमा नयाँ खानेपानी आयाेजनाहरू विस्तार नगरेर एक आपसमा मर्ज गरेर संचालन गरे थप प्रभावकारी हुने बताउदै उपभाेक्ताहरू मिलेर आए नगरले सहजिकरण गर्ने बताउनुभयाे । उहाँले खानेपानी मानव जीवनको अत्यावश्यक आवश्यकता भएको बताउँदै समितिले समुदायमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । “खानेपानीजस्ता जीवन्त सेवामा उपभोक्ताको सक्रिय सहभागिता नै दिगो विकासको आधार हो । नगरपालिका सदैव यस्ता प्रयत्नमा सहकार्य गर्न तयार छ,” उहाँले भन्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि खानेपानी महासंघका केन्द्रीय सदस्य विश्व कार्कीले देशभरका खानेपानी उपभोक्ता समितिहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै नीति–निर्माण तहमा समुदायका आवाजलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताउनुभयो ।
खानेपानी महासंघका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहले खानेपानी क्षेत्रमा देखिएका प्राविधिक र व्यवस्थापकीय चुनौती समाधानका लागि सहकार्य र अनुभव आदान–प्रदान आवश्यक रहेको बताउनुभयो ।
गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार खाँणले विगतका उपलब्धि र चुनौतीहरूको समीक्षा गर्दै उपभोक्तालाई अझ सस्तो, शुद्ध र नियमित खानेपानी सेवा दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले समितिको उद्देश्य केवल पानी वितरण मात्र नभई सरसफाई र स्वास्थ्य सचेतनासँग जोडिएको सामुदायिक अभियान भएको बताउनुभयो ।
खानेपानी डिभिजन कार्यालयका प्रमुख प्रकाश केसी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, शिवमन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी, पत्रकार हरि अधिकारी लगायतका वक्ताहरुले यस गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले मानव जीवनको अभिन्न अंगका रुपमा रहेको खानेपानी र सरसफाईको क्षेत्रमा जिल्लामै उदारणीय काम गरेर नमुनाका रुपमा स्थापित भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।
सभामा समितिका सहसचिव खिल प्रसाद शर्माले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष नमुना पौडेलले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक अर्जुन पोख्रेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।
शुद्ध खानेपानी, स्वस्थ जिन्दगानी भन्ने नाराका साथ वि.स. २०६३ सालमा स्थापना भएको यस खानेपानी समितिले उपभोक्ताहरू माझ स्वच्छ र सुरक्षित पानी वितरण गर्दै आएको समितिले ६ कराेड बढिकाे प्रस्तावित नीति कार्यक्रम पारित गरेकाे छ ।
सहसचिव खिल प्रसाद शर्माको संचालनमा सम्पन्न उक्त कार्यक्रममा समितिका उपाध्यक्ष मञ्जु क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।







प्रतिक्रिया