धनुषा ।
जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। बिहीबारदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा शुरु हुँदैछ।
जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ। मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत् बत्ती जडानका काम भइरहेका छन्।
विवाह पञ्चमीका मुख्य कार्यक्रम जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन्, तर यो वर्ष कुनै पनि तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए। विगतका वर्षहरूमा सरकारी निकायले आर्थिक वा व्यवस्थापकीय सहयोग गर्ने गरेकामा योपटक भने सहयोग नपाइएको उनको भनाइ छ।
अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यो वर्ष पनि ठूलो सङ्ख्यामा साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिरले जनाएको छ। जनकपुरधामलाई मिथिलाञ्चलको साँस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौँदेखि नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहेको छ।
सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको बिहीबार नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा विवाह र १० गते रामकलेवा विधिसहित समापन हुनेछ। प्रत्येक वर्ष मार्गशीर्ष शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन्।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ।







प्रतिक्रिया