१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

नेकपा (एमाले) कपिलवस्तुकाे महाधिवेशन प्रतिनिधि मंसिर १३ मा (समय तालिका समेत)



कपिलवस्तु। नेकपा (एमाले) कपिलवस्तुले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियालाई तीव्र बनाएको छ। बुधबार इमिलियामा बसेको पार्टी पदाधिकारी तथा निर्वाचन समितिको संयुक्त बैठकले मङ्सिर १३ गते हुने निर्वाचनसम्बन्धी आवश्यक तयारीलाई अन्तिम रूप प्रदान गरेको हो।

पार्टी संगठन विभाग प्रमुख सिवि गहतराजका अनुसार मङ्सिर २७ देखि २९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि चयनका विषयमा बैठकले महत्वपूर्ण छलफल गरेको छ।

बैठकमा प्रतिनिधी छनौटका लागि आवश्यक सदस्य संख्या एकिन गर्ने, मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र निर्धारण, उम्मेदवारी दर्ता समय र मतदान प्रक्रिया लगायतका विषयमा विस्तृत रूपले छलफल गरि निर्णय समेत भएको छ ।

कपिलवस्तु जिल्लाका तीनै निर्वाचन क्षेत्रका अनुकूल स्थानमा मतदान केन्द्र तोकिएको छ। क्षेत्र नं १ ओदारी सामुदायिक भवन, क्षेत्र नं २ बुद्धभूमि क्याम्पस यसै स्थलमा दलित क्लस्टरको मतदान, क्षेत्र नं ३ चन्द्रौटा व्यापार संघ तोकिएको छ ।

निर्वाचन विभाग प्रमुख नेत्रज्योति गिरीका अनुसार उम्मेदवारी दर्ता मङ्सिर १३ गते बिहान ८ बजेबाट ९ बजेभित्र सम्पन्न गरिनेछ। मतदान प्रक्रिया भने सोही दिन दिउँसो १२ः३० बजेबाट ३ बजेभित्र सम्पन्न गरिनेछ। सर्वसम्मतका लागि अधिक्तम पहल गरिनेछ । १३ गते अघिनै सर्वसम्मतका लागि मातहतका कमिटीले समन्वय र छलफल गरिरहेकाे जनाइएकाे छ ।

वैठकमा पूर्व अध्यक्ष डम्मर शर्माले विषम परिस्थितिमा पार्टी सुदृढिकरणका लागि एकता र भाइचारा महत्वपूर्ण हुने उल्लेख गर्दै सर्वसम्मत ढङ्गले महाधिवेशन प्रतिनिधि चयन गर्न सकिने वातावरणबारे सकारात्मक छलफल भइरहेको जानकारी दिनुभयो।

बैठकमा जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपाने, केन्द्रिय सदस्य बलराम अधिकारी, निर्वाचन आयोग सदस्य झविलाल पोख्रेल, जिल्ला अध्यक्ष बाबुराम खनाललगायत नेताहरूले पछिल्ला दिनमा एमालेलाई कमजोर पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट भइरहेका प्रहारको कडा प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए। नेताहरूले एमाले सधैँ जनताको हक अधिकार, राष्ट्रियता र स्थिरताको पक्षमा उभिएको पार्टी भएकाले कार्यकर्ताहरू चनाखो र जिम्मेवार रहनुपर्नेमा जोड दिएका थिए।

बैठकले निर्धारित मिति र प्रक्रियाअनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै तहका कमिटीलाई निर्देशन दिएको छ। साथै महाधिवेशनलाई सफल र व्यवस्थित बनाउन संगठनात्मक तयारीलाई अझ बढाउने निर्णयसमेत गरेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२ बिहिबार ००:००  ७ : २५ बजे