बाणगंगा । कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले युवालाइ उत्साहित बनाउँदै लगेको छ ।
अाज मंसिर २३ गते मंगलबार राष्ट्रिय चर्चित गायिका बबिना किराती, थारु गायक राज कुस्मी, चर्चित प्रतिक्षा एण्ड व्यान्डको बेजोड प्रस्तुतिका साथै १४औं कपिलवस्तु डान्स आइडलको प्रस्तुतिसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहाले जानकारी दिए ।
महोत्सवमा मंसिर २२ गते सोमबार भएको विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक रामजी खाँण, शान्तरानी परियार, श्रीनिवास चौधरी, डान्सर सगुन थापा र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । खाँण, परियार, श्रीनिवासले लोकप्रिय गीतहरू गाउँदा र डान्सर सगुन थापाको नृत्य हेरेर दर्शकहरू झुमेसँगै बुद्धरंगशाला चिसो मौसममा तातिएको थियो ।
१६ औं महोत्सवले कृषि, पर्यटन र औद्योगिक क्षेत्रको प्रगति र सम्भावनालाई एकै ठाउँमा प्रदर्शन गर्ने मंचको काम गरेको महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले बताए। पुष १ गतेसम्म चल्ने यस महोत्सवमा सांस्कृतिक कार्यक्रमहरुले महोत्सवलाई थप राैनकता थपेकाे छ । महोत्सवमा नेपालमै पहिलो पटक स्नो सिटी हिउमा खेलेको अनुभूतिले पनि नयाँ पन दिएको छ । आकर्षक सचिबालय, जानकी मन्दिरको मुल गेट, डान्स आइडलको ताज र स्थानीय उत्पादनको स्टल लगायतका विशेष स्टलहरु रहेका छन् ।
सोमबार भएको १४ औं कपिलवस्तु डान्स आइडल तर्फको बेजोड प्रस्तुतिमा प्रतियोगि नम्बर १४ की नन्दिता राना बाहिरिएकी छिन् । राना दर्शकले गरेको ५० प्रतिशत भोट र ५० प्रतिशत निर्णायकले दिएको अंकको आधारमा बाहिरिएकी हुन । मंगलबार ११ जना प्रतिष्पर्धीबीच रोमाञ्चक प्रतिष्पर्धा हुने थप एक जना बाहिरिने प्रमुख निर्णायक हरिशरण रिजालले जानकारी दिए ।
१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गरिने छ । महोत्सवका समापन पुष १ गते हुने वेयलफेयर सोसाइटीले जनाएको छ ।







प्रतिक्रिया