२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस: नेपालमा पनि मनाईंदै



काठमाण्डौ ।
मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईंदैछ ।

नेपालमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र ९युडीएचआर० को स्मरणमा हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । यसअघि हिजो मानव अधिकार रक्षकहरुको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।

नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२ बुधबार ००:००  ९ : १९ बजे