२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

नागढुंगा–मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द



मलेखु 

नागढुंगा–मलेखु सडकखण्ड एक साताका लागि दैनिक पाँच घण्टा  बन्द गरी सडक विस्तारलाई तीव्रता दिइएको छ।

सडक कालोपत्र गरी स्तरोन्नति गर्न नागढुंगा–मुग्लिन सडक आयोजनाले आजदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गरेर काम तीव्र पारेको हो।

सडक आयोजनाले निकालेको सूचनाअनुसार नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा बिहान १०:३० देखि अपराह्न ३:३० बजेसम्म सडक आवागमन बन्द गरेको छ। यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको नागढुंगा- मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिए।

धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभीर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ।

काठमाडौँ जिल्लाभित्र पर्ने नागढुंगा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ। नागढुंगा–पिपलामोड खण्डका लागि काठमाडौँतर्फबाट आउने सवारीसाधनलाई नागढुंगा चेकपोस्टमा र गल्छीबाट काठमाडौँतर्फ जाने सवारीसाधनलाई खानीखोला तथा जुँगेखोलामा रोकिएको छ।

गल्छी–गजुरी खण्डका लागि नौबिसेतर्फबाट आउने सवारीसाधनलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबिसेतर्फ आउने सवारीसाधनलाई मलेखु क्षेत्रमा रोकिएको छ। अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला–भीमढुंगा–रामकोट–धार्केको सडक प्रयोग गर्न सक्नेछन्।

सामाखुसी–टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पुल तरेर घाटबेँसीको पुल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सकिनेछ।

एम्बुलेन्स, सुरक्षानिकायका गाडी, दमकल, शववाहनजस्ता अत्यावश्यक गाडी भए पनि सडक चौडा गर्नका लागि काटिएको पहराबाट सडकमा ढुंगामाटो थुप्रिएकाले आउजाउ गर्न सकिने अवस्था छैन।

प्रकाशित मिति : २४ मंसिर २०८२ बुधबार ००:००  ४ : १७ बजे