काठमाडौं ।
भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए ।
गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् ।
उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार उनीहरुको शव ल्याउन नयाँदिल्लीस्थित नेपाली राजदूतावासले गोवा सरकारसँग समन्वय गरिरहेको छ ।
चुर्णबहादुरको शवलाई गोवाबाट एयर एम्बुलेन्समार्फत् लखनउ र लखनउबाट गाडीमा दाङ पुर्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्यको हकमा पनि घरसम्मै शव पुर्याइदिने पहल भइरहेको छ । त्यसका लागि भारतमा रहेका नेपालीहरुले पनि सहयोग गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालीहरु कार्यरत सो नाइट क्लबमा शनिबार मध्यराति आगलागी सुरु भएको थियो । त्यसक्रममा ग्यास सिलिण्डर पनि विष्फोट हुँदा आगो भयावह भएको थियो ।
साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा र आगो नियन्त्रणको प्रभावकारी प्रबन्ध नहुँदा मानवीय क्षति पनि बढी भएको थियो ।
नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।
गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवाको स्थानीय सरकारका तीन वरिष्ठ सरकारी अधिकारी पनि निलम्बनमा परेका छन् ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।







प्रतिक्रिया