२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

देशभरका ६ सय ७० पालिकाद्वारा जमिनको नक्सा अद्यावधिक



काठमाण्डौ ।

देशभरका ६ सय ७० पालिकाले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू-उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती पालिकाले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ पालिकाले कार्य प्रारम्भ गर्न सकेका छैनन् ।

भू–उपयोग वर्गीकरणका लागि २ सय ६१ पालिकाले आधार तथा मापदण्ड नक्सा अद्यावधिक गरी कित्तागत विवरण सम्पन्न गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले १ सय ६० पालिकाले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गरी कित्तागत विवरण तयार गरेको जानकारी दिनुभयो ।

त्यसमध्ये सम्बन्धित पालिकाले आ–आफ्नो क्षेत्रभित्रका जग्गाको वर्गीकरण नक्सा अद्यावधिक गर्दै गरेको १ सय ५३ तथा अहिलेसम्म आधार तथा मापदण्ड तयार गर्दै गरेका ४४ पालिका तह छन् । कृषि क्षेत्र मात्र ५२ वटाले तयार पारेका छन् । भू–उपयोग ऐन तथा नियममा पालिकालाई भूमिको वर्गीकरणका लागि अधिकार तोकिएको छ ।

कृषि र गैरकृषि जग्गाको वर्गीकरण छिट्टै भएमा त्यसको आधारमा कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति तथा व्यवस्थित सहरीकरण र सुरक्षित आवासको व्यवस्थापन गर्न सहज हुने पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ । पालिका लाई भू–उपयोग वर्गीकरणका लागि आउँदो असार मसान्तसम्म समयको समय तोकिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२ सोमबार ००:००  १० : ४० बजे