१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित



मुस्ताङ ।

हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।

नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एअरलाइन्स र तारा एअरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो ।

प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भए पनि चार्टर्ड र आपत्कालीन हेली सेवा नरोकिने बताउनुभयो । तारा एअरलाइन्स मुस्ताङका स्टेशन इन्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च १ सम्म पोखरा–जोमसोम उडान स्थगित गरेको बताउनुभयो । त्यसैगरी समिट एअरलाइन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ ।

हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा–जोमसोम उडान प्रभावित हुने गर्छ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।

प्रकाशित मिति : १० पुस २०८२ बिहिबार ००:००  ६ : ३६ बजे