३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

उपसचिव तहको परीक्षा रोक्न निर्वाचन आयोगले पठायो लोकसेवा आयोगलाई पत्र



काठमाडौँ ।

निर्वाचन आयोगले उपसचिव तहको परीक्षा रोक्न लोकसेवा आयोगलाई पत्र पठाएको छ। 

निर्वाचन आयोगले निर्वाचनको बेलामा खटिने शाखा अधिकृतहरूले तयारी गर्न समय नपाउने भएकाले परीक्षा नै सार्न आयोगलाई पत्र लेखेको हो। 

‘निर्वाचनको काम गर्ने अधिकांश कर्मचारी शाखा अधिकृत छन्। तिनीहरूले जाँच दिन नपाउने भए,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘जाँच स्थगित गर्न भनेर हामीले निर्णय नै गरेर पठाएका छौँ।’

तर लोकसेवा आयोगले भने प्रक्रिया बिथोलिने भन्दै निर्वाचन आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरेको छ। 

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निर्वाचन आयोगबाट पत्र प्राप्त भएको र त्यसमाथि अध्ययन भइरहेको बताए। 

‘पत्रबारे अध्ययन गरिराखेका छौँ। निर्वाचन आयोगसँग कुराकानी भइरहेको छ। सरसल्लाह गरेर निर्णय लिन्छौँ,’ रेग्मीले भने, ‘लोकसेवाको परीक्षाका लागि ८ देखि १० लाख प्रतिस्पर्धीले तयारी गरिरहेका हुन्छन्। त्यो अवरूद्ध हुनु भएन।’

निर्वाचन आयोगले भने सञ्चालन भएका परीक्षाहरूको रिजल्ट प्रकाशनमा पनि पछाडि सार्न लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगहरूलाई सुझाएको छ। 

स्वीकृत भइसकेका परीक्षाहरू गर्ने तर तत्काल रिजल्ट प्रकाशन नगर्न निर्वाचन आयोगले लोकसेवा आयोगलाई भनेको हो। तर लोकसेवा आयोगले भने सहसचिवहरूको परीक्षाको रिजल्ट प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ। 

‘हामीले फागनुमा कुनै परीक्षा नै राखेका छैनौँ,’ रेग्मीले भने, ‘निर्वाचन सफल पार्न सहयोग गर्नु आयोगको पनि जिम्मेवारी हो। तर रिजल्ट प्रकाशन हुनै लागेकाहरूकोमा असर पर्न दिनुहुन्न। हामी निर्वाचन आयोगसँग समन्वय गर्छौं।’

प्रकाशित मिति : २१ पुस २०८२ सोमबार ००:००  ७ : ४८ बजे