१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

पोखराका वडाध्यक्ष प्रहरी नियन्त्रणमा



पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

शुक्रबार वडा कार्यालयमा ताला लगाउन आएका स्थानीयसँग विवाद भएपछि उनले खुकुरी निकालेर प्रतिवाद गर्न खोजेको प्रत्यक्षदर्शीहरूले बताए । 

सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । स्थानीयले पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउन नहुने मागसहित वडा कार्यालयमा आज नै ताला लगाइदिएका छन् । यसबारे बुझ्न खोज्दा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

‘थप स्थिति जटिल नहोस् भनेर हामीले अध्यक्षज्यूलाई उहाँकै सुरक्षाका लागि नियन्त्रणमा लिएका छौँ । खुकुरीको विषयमा प्रमाण हेरेर मात्रै बोल्न मिल्छ,’ कास्कीका प्रहरीका प्रवक्ता हरीबहादुर बस्नेतले भने ।

स्थानीय प्रत्यक्षदर्शीले भने वडाध्यक्ष खुकुरी सहित पक्राउ परेको दाबी गरेका छन् । ‘विवाद भएपछि अध्यक्ष ज्यूले खुकुरी निकाल्नुभयो । त्यसपछि प्रहरीले उहाँलाई समातेर लगेको छ,’ ती व्यक्तिले भने ।

प्रकाशित मिति : २५ पुस २०८२ शुक्रबार ००:००  ३ : ४१ बजे