१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

जनसेवा कृषि सहकारीको १८औँ साधारणसभा सम्पन्न



बाबुराम रायमाझी,भलवाड ।

वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरमा अवस्थित जनसेवा कृषि सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाकी सचिव मीना थापा क्षेत्रीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै, कोषाध्यक्ष अमरबहादुर गुरुङले आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले कुल ६ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार गरेको आर्थिक विवरण सार्वजनिक गरेका थिए । लेखा संयोजक झगेश्वर अर्यालले सुझावसहित लेखा प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष टोपबहादुर थापाले आगामी आर्थिक वर्षमा सञ्चालन गरिने नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै सहकारीलाई थप सबल, पारदर्शी र उत्पादनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साधारणसभाका अवसरमा संस्थाले ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको थियो । साथै एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल कबित भुसाललाई विशेष सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विष्णु गिरीले जनसेवा कृषि सहकारी नगरकै एक अब्बल संस्था भएको उल्लेख गर्दै, सहकारीबाट ऋण लिने सदस्यहरूले ढुक्कका साथ उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै, वाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेस बहादुर केसीले सहकारीद्वारा सञ्चालन गरिने सस्तो तथा सुलभ पसलले संस्थालाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा वडा सदस्य हरिशंकर पौडेल, जनज्योति माविका पूर्व प्रधानाध्यापक विष्णु भण्डारी लगायत वक्ताहरूले साधारणसभाको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभा जनसेवा कृषि सहकारी मोतिपुरका अध्यक्ष टोपबहादुर थापाको अध्यक्षता  विष्णु गिरीको प्रमुख आतिथ्यता, वडा सचिव कृष्णप्रसाद खनालको आतिथ्यता रहेको थियो । उपाध्यक्ष राम बहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव मीना थापा क्षेत्रीले सहजीकरण गरेकी थिइन् ।

यसैबीच, संस्थाको ८औँ अधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि छलफल भइरहेको निर्वाचन मण्डलले जानकारी गराएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२ शनिबार ००:००  ९ : ०४ बजे