वाणगंगा ।
कपिलवस्तुको वाणगंगा १ मा अवस्थित बैरिया युवा समाजकाे प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन मायादेवी रिसोर्ट बैरियामा सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले महेशराज पन्थको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा सुरेश खत्री, सचिवमा सागर घिमिरे, सहसचिवमा भगवती शर्मा र कोषाध्यक्षमा सुर्यमनी पाण्डे निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमितिको सदस्यमा कृष्ण शर्मा, चोपलाल बेल्वासे, श्रीधर पन्थ, सञ्जय कुमार थारु, गंगा पौडेल र सिता कुवँर निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष पन्थले समाजप्रति विश्वास गर्दै जिम्मेवारी सुम्पिएकामा धन्यवाद व्यक्त गर्दै समाजलाई सामाजिक रूपान्तरणमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सामाजिक चेतनाका क्षेत्रमा युवालाई सक्रिय बनाउँदै समाजलाई उदाहरणीय बनाउने लक्ष्यसहित काम गर्ने बताउनुभयो ।
निवर्तमान अध्यक्ष विष्णु प्रसाद घिमिरेले युवाको सकारात्मक सोच र सम्भावनालाई समाज परिवर्तनको माध्यम बनाउने उद्देश्यसहित बैरिया युवा समाजको परिकल्पना गरिएको स्मरण गर्नुभयो । उहाँले समाजसेवाको पवित्र भावनाका साथ सबैको साझा प्रयासबाट संस्था स्थापना भएको उल्लेख गर्दै अहिलेसम्म समाजले रचनात्मक तथा उदाहरणीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । छाेटाे अवधीमा युवा समाजलाइ समाजमा स्थापित गर्न सफल भएकाे अतिथीहरूले बताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि संविधान सभा सदस्य विश्रामप्रसाद चौधरीले युवाहरु समाजका मेरुदण्ड भएको उल्लेख गर्दै सामाजिक विकास र सुशासनका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले बैरिया युवा समाजले स्थानीय स्तरमा खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउन सुझाव दिनुभयो । बरिष्ठ समाजसेवी कृष्ण कुवँर, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख अर्जुन पाैडेल लगायतका वक्ताहरुले पनि युवाको एकता र निरन्तर सक्रियताले समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो ।
कार्यक्रममा सचिव सुरेन्द्र घिमिरेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष श्यामबहादुर घिमिरे क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।

अधिवेशनमा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा युवा समाजका सदस्य तथा स्थानीय कलाकारले आ आफनो सांगितिक प्रस्तुती देखाएका थिए । कार्यक्रममा जनप्रतिनिधि, समाजका सल्लाहकार तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।







प्रतिक्रिया