कपिलवस्तु ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड, निग्लिहवाको ९औँ वार्षिक साधारण सभा कपिलवस्तु नगरपालिका–९ स्थित श्री कनकमुनि माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ। सभामा उपनिर्वाचनसमेत गरिएको छ।
२ हजार ४ सय २७ जना शेयर सदस्य रहेको संस्थाको साधारण सभाले १३ वटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले सदस्यहरूलाई १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाका व्यवस्थापक बसन्त मुराउले जानकारी दिए।
उपनिर्वाचन अन्तर्गत रिक्त अन्तरसमूह नम्बर ८ बाट सञ्चालक प्रतिनिधिमा मीरा चौधरी निर्वाचित भएकी छन्। सभामा संस्थाकी अध्यक्ष सुलोचना पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् भने लेखा समितिकी संयोजक अमृता नेपाली हमालले लेखा प्रतिवेदन प्रस्तुत गरिन्।
सभामा मंसिर १३ गते दिवंगत भएका सदस्य रामसजन केवटको सदस्य सुरक्षा योजनाअन्तर्गत बीमा रकम बराबरको रु. ३ लाखको चेक हस्तान्तरण गरिएको थियो। साथै एक दर्जनभन्दा बढी कृषकलाई पशुका लागि आवश्यक भिटामिन, दुई जना कृषकलाई स्प्रे ट्यांकीलगायत कृषि सामग्री वितरण गरिएको थियो। उत्कृष्ट समूहलाई नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।
व्यवस्थापक मुराउका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले १२ करोड २७ लाख १२ हजार २५४ रुपैयाँको कारोबार गरेको छ भने कुल सम्पत्ति २८ करोड ८१ लाख ३६ हजार ७५ रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा संस्थाले कृषि सम्बन्धी विभिन्न निकायसँग समन्वय गरी माटो परीक्षण, मकै तथा विभिन्न जातका तरकारी बीउ सशुल्क वितरण, पशु उपचार (भेटेरिनरी) सेवा, लागत साझेदारीमा सामग्री बिक्रीलगायत कार्यक्रम सञ्चालन गरेको थियो। त्यसैगरी तरकारी खेती तथा गाई–भैंसी, बाख्रा र बङ्गुर पालनलाई व्यवसायिकरण गर्न साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, इलाका कार्यालय बुटवलसँगको सहकार्यमा एक अङ्कको ब्याजदर सुविधासहित कर्जा प्रदान गर्दै आएको छ।
संस्थाले ‘अयक्षगुना’ नामको मोही उत्पादन गरी बजारीकरण गर्दै आएको छ भने दूध संकलन तथा डेरी सञ्चालन गरी समेत कारोबार गरिरहेको छ। कार्यक्रम संस्थाकी सह–प्रबन्धक सीता वाग्लेको सञ्चालनमा सम्पन्न भएको थियो।
३० पुस २०८२ बुधबार ००:००
10
Shares







प्रतिक्रिया