७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

मुस्लिम समुदायको एक महिने रमजान पर्व सुरु



नेपालगन्ज । एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान पर्व रमजान बिहीबारबाट बाँकेमा पनि सुरु भएको छ । 

बुधबार मध्यरातमा नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्मगुरु मौलाना मुफ्ती जाफर रजाले रमजानको चन्द्रमा देखिएको घोषणा गरेसँगै बिहीबारबाट रमजानको महिना सुरु भएको हो । 

मुफ्ती रजाले रमजानको चन्द्रमा देखिएकोले बाहीबारबाट एक महिनासम्म रोजा बसेर विविध धार्मिक तथा सामाजिक कार्य गर्न मुस्लिम सुमदायलाई आग्रह गर्नुभयो । एक महिनासम्म मनाइने रमजान इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण पवित्र महिना हो । बुधबारबाटै तरावी नमाज बाँकेका सबै मस्जिदहरूमा सुरु गरिएको जामामस्जिद सञ्चालक समितिले जनाएको छ । 

रमजान सुरु भएको अवसरमा जिल्लाका विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारका प्रमुखहरूले शुभकामना दिनुभएको छ । सो क्रममा दारुल उलुम बरकातियाका संस्थापक तथा धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले इस्लाम धर्मावलम्बीहरूको रमजान पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आपसी सहिष्णुता, आत्मियता, धार्मिक तथा सांस्कृतिक सद्भाव र भातृत्वलाई प्रवर्धन गर्न आग्रह गर्नुभयो । 

यसैगरी, नरैनापुर र जानकी गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र छब्बन खाँले पनि शुभकामना सन्देश जारी गर्दै नेपालको संविधानले सबै धर्म, संस्कृति, भाषा र सम्प्रदायको समान अस्तित्व स्वीकार गरेकोले रमजान पर्वले नेपालको धार्मिक विविधतालाई अझ मजबुत बनाउने बताउनुभएको छ । 

धर्मगुरु मन्जरीका अनुसार मुस्लिम समुदायको पाँच अनिवार्य धार्मिक कार्यहरूमा कलमा, रोजा, नमाज, हज, र जकात हुन् । ती मध्ये रोजा पनि भएकोले यसलाई अत्याधिक महत्त्वका साथ मनाइने गरिएको छ । 

उहाँका अनुसार घाम उदाउनुभन्दा डेढ घण्टा अगावै सेहरी (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर पानी लगायत केही पनि खान नहुने यो पर्वमा मुस्लिमले आ–आफ्नो गच्छे अनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । यो महिनामानै मुस्लिम समुदायले सबैभन्दा बढी दान गर्ने गर्छन् भने रोजा खोल्ने सामुहिक कार्यक्रमहरू पनि ठाउँ ठाउँमा महिनाभरिनै राख्ने गरिन्छ । 

मुस्लिम अगुवा शकील अहमद जसगढले ३० दिनको उपवास पूरा गरेपछि मनाइने चाड इदका दिन पुरूषहरू इदगाहमा र महिलाहरू घरमै सामूहिक रूपमा नमाज पढ्न जाने र अन्त्यमा एक आपसमा अँगालो मारेर इद मुवारक भन्दै शुभकामना र बधाई साटासाट गर्ने बताउनुभयो । उहाँका अनुसार इदमा नयाँ नयाँ लुगा लगाउनुका साथै मिठो मिठो परिकार समेत खाने र वितरण गर्ने गरिन्छ । 

प्रकाशित मिति : ७ फाल्गुन २०८२ बिहिबार ००:००  ५ : ३३ बजे