एजेन्सी ।
इजरायलले इरानको राजधानी तेहरानसहित कैयौं शहरमा आक्रमण गरेको छ । इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर आफूले इरानमा आक्रमण गरेको जानकारी गराउँदै इजरायलमा पनि क्षेप्यास्त्र आक्रमण हुन सक्नेतर्फ सचेत गराएको छ ।
इरानले इजरायलविरुद्ध आक्रमण गर्ने तयारी गरेका कारण खतरा हटाउन आफूले पहिला आक्रमण गरेको इजरायलको भनाइ छ । यस्तै इजरायलले इरानमाथि गरेको आक्रमणमा अमेरिका पनि संलग्न भएको खुलेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीले दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानमा भएको आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको उल्लेख गरेको छ । गएको वर्षको जुलाईमा इजराइल र इरानबीच युद्ध हुँदा अमेरिकाले इरानमा आक्रमण गरेको थियो । त्यतिबेला इरानका ठूला तीनवटा आणविक भट्टीमा अमेरिकाले शक्तिशाली जिबियू–५७ बम खसालेको थियो ।
अमेरिकाले त्यतिबेलै कामै नलाग्ने गरी ध्वस्त बनाएको भनेको भट्टीहरूमा परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको सार्वजनिक भएपछि अमेरिकाले इरानलाई परमाणु कार्यक्रम रोक्न दबाब दिँदै आएको छ । ओमान र जेनेभामा पटक–पटक वार्ता भए पनि इरान सहमतिमा नआएपछि अमेरिकाले इरानतर्फ मध्यपूर्वका विभिन्न क्षेत्रमा सैन्य शक्ति तैनाथ गर्दै आएको थियो ।
आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन । इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको कार्यालय नजिक पनि आक्रमण भएको छ । आक्रमणपछि खामेनेईलाई सुरक्षित ठाउँमा सारेको इरानले जनाएको छ ।







प्रतिक्रिया