एजेन्सी ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरान र इजरायलसहित मध्यपूर्वी देशमा रहेका नेपालीहरु पनि समस्यामा परेका छन् । अमेरिकाले पूर्ण स्तरको युद्ध शुरु भएको घोषणा गरेको र इरानले जवाफी कारबाही गर्दा खाडी क्षेत्र सहित मध्यपूर्वमा रहेका अमेरिकी आधारशिविरलाई लक्षित गरेका कारण ती देशमा रहेका नेपालीहरु पनि समस्यामा परेका हुन् ।
नेपाल सरकारले नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच इजरायलले इरानमाथि आक्रमण शुरू गरेपछि खाडी देशहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इरानमाथि आक्रमण शुरू भएपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि कतार एयरवेजले दोहातर्फ जाने तथा दोहाबाट सञ्चालन हुने आफ्ना सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।
कतार एयरवेजले दैनिक तीनवटा उडान दोहा–काठमाण्डौ गर्दै आएको छ । यसबाहेक नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले पनि दोहाका लागि उडान गर्छन् । यस्तै भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् ।
इरानमा अमेरिका र इजरायलको सैन्य आक्रमणपछि पश्चिम एशियाभरका व्यावसायिक उडानहरू प्रभावित भएका छन् । धेरै देशका एयरलाइन्सले इरान, इजरायल, यूएई, कतार, ओमान, लेबनान, सिरिया, इराक र जोर्डनतर्फका उडानहरू स्थगित वा रद्द गरेका छन् ।







प्रतिक्रिया