१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

जनताको मन र मतको कदर गर्छु : उम्मेदवार न्यौपाने



कपिलवस्तु ।

रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दधिराम न्याैपानेले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने दृढ संकल्प व्यक्त गर्नुभएको छ।

उहाँले विगतदेखि नै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा सक्रिय पहल गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा ती प्रयासलाई अझ व्यवस्थित, प्रभावकारी र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। रुपन्देही–१ अन्तर्गत पर्ने रोहिणी, ओमसतिया, देवदह र तिलोत्तमा क्षेत्र कृषि तथा पर्यटनको दृष्टिकोणले अत्यन्तै सम्भावनायुक्त रहेको बताउँदै, ती सम्भावनालाई व्यवहारमा उतार्न आफूसँग स्पष्ट योजना र दृष्टिकोण रहेको उहाँको भनाइ छ।

न्यौपानेले यस क्षेत्रमा रहेका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, प्रचार–प्रसार र प्रवर्द्धन गर्न सके स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना हुनुका साथै रुपन्देहीको पहिचान र समृद्धि राष्ट्रियस्तरमै स्थापित गर्न सकिने बताउनुभयो। त्यसका लागि मतदाताले अत्यधिक मतले जिताएपछि आवश्यक बजेटको व्यवस्थापन, सरकार र संसदमा प्रभावकारी रूपमा आवाज उठाएर थप पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

उहाँले निर्वाचन अभियानका क्रममा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सबैको भावना, आवश्यकता र अपेक्षाअनुसार अघि बढ्ने बताउनुभयो। जनताको मन र मतको कदर गर्दै आफ्नो क्षेत्रको विकास, पहिचान र समृद्धिका लागि सदैव लागिरहने उहाँको भनाइ छ।

विगतका दिनहरूदेखि नै सुख–दुःखमा जनतासँग सँगै रहेर सक्दो सहयोग गर्दै आएको उल्लेख गर्दै न्यौपानेले यही कारणले आफूले यहाँका मतदाताको मन जित्न सफल भएको दाबी गर्नुभयो। उहाँले जनताले आफूमाथि विश्वास गरेर मतदानमार्फत जिताउने विश्वाससमेत व्यक्त गर्नुभयो।

“मेरो कार्यशैली, प्रतिबद्धता र विकासप्रतिको सोचलाई मन पराएर यहाँका जनताले मलाई रोज्नुभएको महसुस गरेको छु,” उहाँले भन्नुभयो, “भावी दिनमा पनि यही क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो सम्पूर्ण समय र क्षमता समर्पण गर्नेछु।”

कृषि र पर्यटनलाई रोजगारी, आत्मनिर्भरता र समृद्धिको आधार बनाउने आफ्नो योजनामार्फत रुपन्देही–१ लाई उदाहरणीय निर्वाचन क्षेत्र बनाउने लक्ष्यका साथ आफू चुनावी मैदानमा रहेको न्यौपानेको भनाइ छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२ सोमबार ००:००  ९ : ३२ बजे