कपिलवस्तु ।
मातृ तथा बाल मृत्युदर न्यूनीकरणका लागि सरोकारवाला निकायहरूले समन्वय, प्रभावकारी सेवा प्रवाह र जनचेतना अभिवृद्धिमा जोड दिएका छन्। सुरक्षित मातृत्व अभियान अन्तर्गत “मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन २०८२र०८३” सम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा, नेपाल पत्रकार महासङ्घ कपिलवस्तुको समन्वय तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र र कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेसको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले मातृ तथा शिशु मृत्युदर घटाउन सम्बन्धित निकायबीच सुदृढ समन्वय, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाह अनिवार्य रहेको बताउनुभयो। “नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सुधार नगरी अपेक्षित परिणाम हासिल गर्न सकिँदैन,” उहाँले भन्नुभयो।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले संस्थागत सुत्केरी दर वृद्धि गर्न अझै चुनौती रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थाको पहुँच र सेवा गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले “शून्य होम डेलिभरी” लक्ष्य हासिल गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पूर्वाधार विकाससँगै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउँदै नागरिकको जीवनस्तर सुधारका लागि स्वास्थ्य सेवा सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “दृढ इच्छाशक्ति र सहकार्य भए असम्भव केही छैन,” उहाँले भन्नुभयो। साथै अभियानलाई सफल बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफ्नो पालिका जोखिमपूर्ण अवस्थामा रहेको जनाउँदै जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिनुभयो। महिला स्वास्थ्य स्वयंसेविका र समुदायस्तरका सन्देशवाहकलाई सशक्त बनाउन सके मातृ तथा बाल स्वास्थ्य सुधारमा ठोस योगदान पुग्ने उहाँले बताउनुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले जिल्लामा करिब १३ प्रतिशत सुत्केरी अझै घरमै हुने गरेको तथ्यांक प्रस्तुत गर्दै संस्थागत सुत्केरी दर वृद्धि गर्न अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता तथा खगप्रसाद चापागाईंको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ, बाणगंगा नगरपालिका प्रमुख चक्रपाणि अर्याल, विजय गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा लगायत जिल्लाका १० स्थानीय तहका स्वास्थ्य संयोजक, प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको सहभागिता रहेको थियो।







प्रतिक्रिया