४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

सुमन बनिन् मिस इन्डिया



काठमाडौँ — यस वर्षको फेमिना मिस इन्डियाको ताज राजस्थानकी सुमन रावले जितेकी छन् । मुम्बईको सरदार वल्लभ भाइ पटेल स्टेडियममा आयोजित उक्त ग्रान्ड फिनालेमा रावलाई २०१८ की मिस इन्डिया अनुकृति दासले ताज पहिराएकी थिइन् । फिनालेमा बलिउड सेलेब्रिटी हुमा कुरेशी, चित्राङ्गदा सिंह, दिया मिर्जा, रेमो डिसुजा,विक्की कौशल, आयुष शर्मासहित २०१८ की मिस वर्ल्ड भेनेसा पोन्से सहभागी थिए ।

मिस इन्डिया विजेता राव चार्टर्ड एकाउन्टेन्टको तयारी गरिरहेकी छन् । ‘म जीवनमा त्यस्तो काम पनि गर्ने हिम्मत राख्छु, जसबारे अन्य मान्छेले अनिच्छा जाहेर गर्छन्,’ सबैभन्दा बढी प्रभावित आफ्नै आमाबुबासँग हुने बताएकी मिस इन्डिया रावले थपिन्, ‘यो टाइटल मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’

यस वर्ष टाइटल जित्न सफल रावले गत वर्ष पनि यसै प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन्, जसमा उनी फस्ट रनरअप भएकी थिइन् । ३० सुन्दरीको सहभागिता रहेको मिस इन्डिया प्रतियोगितालाई करण जोहर, मनिष पाल र पूर्वमिसवर्ल्ड तथा मिस इन्डिया मानुषी छिल्लरले सञ्चालन गरेका थिए ।

मिस इन्डियाको ताज जितेपछि रावले डिसेम्बर ७ मा थाइल्यान्डमा आयोजना हुने मिस वर्ल्डका लागि भारतको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएकी छन् । प्रतियोगितामा फस्ट रनरअप उत्तर प्रदेशकी शिनता चौहान बनिन् भने सेकेन्ड रनरअप तेलंगनाकी सन्जना विज बनेकी थिइन् ।

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  २ : ५१ बजे